
काठमाडौं ।
चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मानव स्वास्थ्यसम्बन्धी अनुसन्धान कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। चीन मानवयुक्त अन्तरिक्ष एजेन्सीका अनुसार आगामी अप्रिल १ देखि प्रस्ताव आह्वान गरिनेछ।
यो कार्यक्रम दीर्घकालीन अन्तरिक्ष यात्रा तथा भविष्यका चन्द्रमा अवतरण अभियानका क्रममा मानव स्वास्थ्य कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित हुनेछ। यसमार्फत अन्तरिक्ष मानव एटलस निर्माण, अनुसन्धान डाटाबेस स्थापना तथा नयाँ वैज्ञानिक उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ।
चीनको तियानगोङ अन्तरिक्ष स्टेशन (स्वर्गीय दरबार) मा यस्ता अन्तरिक्ष चिकित्सा अनुसन्धानहरू महत्वपूर्ण मानिन्छन्। सन् २०२३ जुनदेखि प्रस्ताव संकलन सुरु गरिएकोमा हालसम्म ३८७ परियोजना प्राप्त भइसकेका छन्, जसमध्ये ५३ परियोजना कार्यान्वयनमा गएका छन्।
चीनले सन् २०३० सम्म मानवसहित चन्द्रमा अवतरण गर्ने लक्ष्य राखेको छ। यसै वर्ष तियानगोङमा दुई समूहका अन्तरिक्षयात्री पठाइनेछन्, जसमा एक जनाले एक वर्षभन्दा बढी समय कक्षामा बस्ने योजना छ।
अनुसन्धानकत्र्री ली यिङहुईका अनुसार, चीनले अन्तरिक्ष चिकित्सा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ। यसमा अन्तरिक्षमा अंग–चिप तथा कृत्रिम रक्तनलीसम्बन्धी अनुसन्धान समावेश छन्, जसले मुटु स्वास्थ्य, स्नायु प्रणाली, बुढ्यौली तथा औषधि विकासमा सहयोग पुर्याएको छ।
यो अनुसन्धानले अन्तरिक्षयात्रीहरूको मात्र नभई पृथ्वीमा रहेका सर्वसाधारणको स्वास्थ्य सुधारमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।-रासस/सिन्ह्वा
प्रकाशित: १५ चैत्र २०८२, आईतवार