अमेरिकाको न्यु मेक्सिकोमा बाल यौन शोषण र प्रयोगकर्ता सुरक्षासम्बन्धी दावीमा अदालतले मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना तिर्न आदेश दिएको छ।
मंगलबार न्यु मेक्सिकोको एक न्यायाधीश मण्डलले राज्यका महान्यायाधिवक्ताले दायर गरेको मुद्दामा मेटा प्लेटफर्म्सले राज्यको कानुन उल्लङ्घन गरेको ठहर गरेको छ।
रोयटर्सका अनुसार उक्त मुद्दामा कम्पनीले फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रमित पारेको र ती प्लेटफर्ममा बाल यौन शोषण हुन दिएको आरोप लगाइएको थियो।
एक दिनभन्दा कम समयको छलफलपछि न्यायाधीश मण्डलले मेटाले न्यु मेक्सिकोको उपभोक्ता संरक्षण कानुन उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै कम्पनीलाई ३७ करोड ५० लाख डलर नागरिक जरिवाना तिर्न आदेश दिएको हो।
यो फैसला मेटाविरुद्ध यस्ता दावीमा न्यायाधीश मण्डलले दिएको पहिलो निर्णय हो, जबकि कम्पनीले आफ्ना प्लेटफर्महरूले युवाहरूको मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे विभिन्न मुद्दाहरूको सामना गरिरहेको छ।
“हामी यस निर्णयसँग सहमत छैनौँ र अपिल गर्नेछौँ,” मेटाका एक प्रवक्ताले विज्ञप्तिमा भने। “हामी हाम्रो प्लेटफर्ममा मानिसलाई सुरक्षित राख्न कडा मेहनत गर्छौँ र खराब तत्व वा हानिकारक सामग्री पहिचान र हटाउनका चुनौतीबारे स्पष्ट छौँ।”
न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले भने, यो निर्णय “मेटाले बालबालिकाको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको कारण मूल्य चुकाएका हरेक बालबालिका र परिवारका लागि ऐतिहासिक जित” हो।
“न्यायाधीश मण्डलले मेटालाई तिर्न आदेश दिएको ठूलो क्षतिपूर्तिले ठूला टेक कम्पनीका कार्यकारीहरूलाई कुनै पनि कम्पनी कानुनभन्दा माथि छैन भन्ने स्पष्ट सन्देश दिनुपर्छ,” उनले भने।
मे महिनाको दोस्रो चरणको सुनुवाइमा आफ्नो कार्यालयले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न मेटाका प्लेटफर्ममा परिवर्तन गर्न अदालतलाई आदेश दिन र थप आर्थिक जरिवाना लगाउन माग गर्ने टोरेजले बताएका छन्।
फैसलापछि आफ्टर-आवर्स कारोबारमा मेटाको सेयर मूल्य ०.८ प्रतिशतले बढेको थियो। राज्यले जूरीसँग २ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति माग गरेको थियो।
सान्ता फेमा ६ हप्तासम्म चलेको सुनुवाइपछि न्यायधीश मण्डलले यो निर्णय दिएको हो। टोरेजले कम्पनीमाथि बालबालिकामा सहज पहुँच दिँदै अपराधीहरूलाई पीडितसँग जोड्ने, जसले प्रायः वास्तविक जीवनमा दुरुपयोग र मानव तस्करीसम्म निम्त्याउने आरोप लगाएका थिए।
“एक दशकको अवधिमा मेटाले बारम्बार इमानदार र पारदर्शी रूपमा काम गर्न असफल भएको छ,” राज्यका वकिल लिन्डा सिङ्गरले सोमबार अन्तिम बहसका क्रममा जूरीलाई भनिन्। “यसले यस राज्यका युवाहरूलाई सुरक्षित राख्न आवश्यक कदम चाल्न असफल भएको छ।”