दूरसञ्चार सेवा दस्तुरसम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णय न्यायोचित: आईस्पान

  • Technology Khabar | ९ चैत्र २०८२, सोमबार
दूरसञ्चार सेवा दस्तुरसम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णय न्यायोचित: आईस्पान

काठमाडौं ।

इन्टरनेट सेवा  प्रदायक संघ आईस्पानले गत चैत ६ गते महान्यायाधिवक्ताको कार्यालयले गरेको मर्मत संभार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने निर्णय उपभोक्तालाई थप आर्थिक भार नपर्ने र इन्टरनेट उद्योगको अस्तित्व रक्षा हुने गरी आएको ठहर गरेको छ।

विद्यमान कानुनी आधार र प्रावधानहरू

संघका अनुसार नेपालको इन्टरनेट सेवालाई सस्तो र गुणस्तरीय बनाउन प्रचलित ऐन तथा नियमावलीले स्पष्ट व्यवस्था गरेका छन्, जसलाई महान्यायाधिवक्ताको निर्णयले पुनः पुष्टि गरेको छ:

  • दूरसञ्चार नियमावली, २०५४ को दफा १५ (ज): यस प्रावधानले फिक्स्ड वायर्ड ब्रोडब्यान्ड सेवाको कुल महसुलको बढीमा ५० प्रतिशतसम्म ‘मर्मत सम्भार शुल्क’ तोक्न सकिने सुविधा दिएको छ।
  • दूरसञ्चार ऐन, २०५३ को दफा ४२ (१) (क): सेवा प्रदायकहरूले ग्राहकबाट लिने शुल्क नेपाल दूरसञ्चार प्राधिकरण बाट स्वीकृत गराई सोही दरमा मात्र उठाउने गरेका छन्।
  • आर्थिक ऐनको विशेष व्यवस्था: आर्थिक ऐनमा “फिक्स्ड ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर लाग्ने छैन” भन्ने स्पष्ट र बाध्यात्मक व्यवस्था रहेको छ।

महान्यायाधिवक्ताको कार्यालयको मुख्य निर्णयहरू

नेपाल दूरसञ्चार प्राधिकरण र सम्बन्धित निकायहरूको गहन अध्ययन र परामर्श पश्चात् महान्यायाधिवक्ताको कार्यालयले निम्न निष्कर्ष निकालेको छ:

  • नीतिगत अनुकूलता: इन्टरनेट सेवा प्रदायकहरूले मर्मत-सम्भार शुल्कमा ग्राहकलाई दिँदै आएको टीएससी छुट नेपाल सरकारको विद्यमान नीति र आर्थिक ऐनको अनुकूल अनुरूप नै रहेको छ।
  • राजस्व सम्बन्धी अभ्यास: कुल महसुलको ५० प्रतिशत (इन्टरनेट सेवा बापतको रकम) मा मात्र टीएससी उठाई समयमै सरकारी राजस्व खातामा जम्मा गर्ने सेवा प्रदायकहरूको अभ्यास पूर्णतः सही र कानुनी रहेको छ।

यो निर्णयले मर्मत-सम्भारमा समेत थप कर थोपर्नुपर्छ भन्ने आधारहीन तर्कहरूलाई खारेज गरेको र यसबाट उपभोक्ताहरू थप आर्थिक भारबाट जोगिएका छन् भने लाखौँको रोजगारी र अर्बौँको लगानी भएको इन्टरनेट उद्योगको समेत रक्षा भएको संघको बुझाई छ।

प्रकाशित: ९ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार