नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

  • Technology Khabar | ७ चैत्र २०८२, शनिबार
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

काठमाडौं ।

नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’ (एसएलएस) र ‘ओरियन’ अन्तरिक्ष यान लाई पुनः प्रक्षेपण स्थलमा ल्याएको छ।

यी दुबै संरचना केनेडी स्पेस सेन्टर, फ्लोरिडामा रहेको भेहिकल एसेम्बली बिल्डिङबाट करिब ६.४ किलोमिटर दूरी तय गर्दै प्रक्षेपण स्थलसम्म पु¥याइएको हो। शुक्रबार बिहान १२ः२० बजे (स्थानीय समय) यात्रा सुरु भएको यो प्रक्रिया करिब ११ घण्टापछि सम्पन्न भएको थियो।

नासाका टोलीहरू अहिले अन्तिम चरणको प्रक्षेपण तयारीमा जुटेका छन् । आगामी आर्टेमिस २ मिशनको प्रक्षेपण झ्याल अप्रिल १ देखि अप्रिल ६ सम्म रहने तय गरिएको छ ।

यसअघि फेब्रुअरी २१ मा गरिएको ‘वेट ड्रेस रिहर्सल’ (अन्तिम परीक्षण) क्रममा रकेटको माथिल्लो भागमा हिलियम प्रवाह हुन नदिने समस्या देखिएको थियो । त्यसपछि मर्मतका लागि रकेट र अन्तरिक्ष यानलाई पुनः एसेम्बली भवनमा फर्काइएको थियो।

मर्मतका क्रममा इन्जिनियरहरूले विभिन्न प्रणालीहरू पुनः परीक्षण तथा अद्यावधिक गरेका छन् । यसमा नयाँ फ्लाइट टर्मिनेसन सिस्टम ब्याट्री सक्रिय पार्ने, विभिन्न चरणका ब्याट्रीहरू परिवर्तन गर्ने तथा ओरियनको लन्च एबोर्ट सिस्टमका ब्याट्री चार्ज गर्ने काम गरिएको छ।

यसका साथै, मुख्य चरणको तरल अक्सिजन लाइनको सिल परिवर्तन गरिएको छ र अक्सिजन आपूर्ति प्रणाली पुनः जडान गरी परीक्षण गरिएको नासाले जनाएको छ।

आर्टेमिस २ मिशनअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब १० दिनको यात्रामा चन्द्रमाको परिक्रमा गराएर पुनः पृथ्वीमा फर्काइनेछ। यसमा रीड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन सहभागी रहनेछन्। रासस/सिन्ह्वा

प्रकाशित: ७ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...