
काठमाडौं ।
चीनको प्रविधि क्षेत्रमा ओपनक्लको लोकप्रियतापछि एआई एजेन्ट बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा अलिबाबा ग्रुपले मंगलबार व्यवसायका लागि स्वचालन लक्षित कृत्रिम बुद्धिमत्ता प्लेटफर्म सार्वजनिक गरेको छ।
वुकोङ नाम दिइएको यो प्लेटफर्मले एकै इन्टरफेसभित्रै धेरै एआई एजेन्टहरू समन्वय गरी कागजात सम्पादन, स्प्रेडसिट अपडेट, बैठक ट्रान्सक्रिप्सन र अनुसन्धान जस्ता जटिल व्यावसायिक कामहरू गर्न सक्छ। हाल यो निम्तो-आधारित बीटा परीक्षणका लागि मात्र उपलब्ध छ।
यो सार्वजनिक एक दिनअघि अलिबाबाले नयाँ स्थापना गरिएको अलिबाबा टोकन हब (एटीएच) व्यवसाय समूहअन्तर्गत आफ्नो पुनर्संरचना घोषणा गरेको थियो, जसले कम्पनीभरि एआई एजेन्टमा जोड दिने संकेत दिएको छ। वुकोङ, एटीएच अन्तर्गतको वुकोङ बिजनेस युनिटको प्रमुख उत्पादन हो।
रोयटर्सका अनुसार प्रयोगकर्ताले वुकोङलाई छुट्टै डेस्कटप एप्लिकेसनको रूपमा वा अलिबाबाको सहकार्य प्लेटफर्म डिङटक मार्फत प्रयोग गर्न सक्छन्, जसमा २ करोडभन्दा बढी कर्पोरेट प्रयोगकर्ता रहेका छन्। प्रेस विज्ञप्तिअनुसार यो प्लेटफर्म स्ल्याक, माइक्रोसफ्ट टीम्स र वीच्याट जस्ता अन्य सन्देश सेवासँग पनि जोडिनेछ।
पछिल्ला हप्ताहरूमा खुला स्रोत एआई एजेन्ट टुल ओपनक्ल चीनमा निकै लोकप्रिय बन्दै गएको छ, जसले प्रयोगकर्तालाई एजेन्ट उत्पादनहरू स्थापना गरेर परीक्षण गर्न आकर्षित गरेको छ।
यसले सुरक्षा जोखिमबारे अधिकारीहरूले चेतावनी दिइरहे पनि प्रविधि कम्पनीहरूलाई यो प्रवृत्तिमा सहभागी हुन प्रेरित गरेको छ। बाइटडान्स, टेन्सेन्ट र एआई स्टार्टअप झिपु लगायत कम्पनीहरूले पनि यस्तै सेवा सार्वजनिक गरेका छन्।
प्रकाशित: ३ चैत्र २०८२, मंगलवार