बालेन शाहले नयाँ सरकार गठन नहुँदै सामाजिक सञ्जालमा शेयर गरे ‘पीएम’ शब्दसहितको इमेल एड्रेस: दम्भ वा संकेत?

  • Technology Khabar | १ चैत्र २०८२, आईतवार
बालेन शाहले नयाँ सरकार गठन नहुँदै सामाजिक सञ्जालमा शेयर गरे ‘पीएम’ शब्दसहितको इमेल एड्रेस: दम्भ वा संकेत?

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा हालैको आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा ५ बाट निर्वाचित सांसद बालेन्द्र शाह बालेनले आफ्नो आधिकारिक फेसबुक पेजमा [email protected] नामको इमेल आइडी अपडेट गरेका छन्।

उनले हालै अपडेट गरेको यो आईडीलाई लिएर विभिन्न चर्चा परिचर्चा सुरु भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा पहिलो भएका कारण सरकार गठनको जिम्मा आफैंले पाउने भए पनि ‘प्रधानमन्त्री’ को बन्ने वा बनेको भन्ने आधिकारिक भइनसक्दै प्रधानमन्त्री जनाउने पीएम शब्द राखेर बनाएको ईमेल आइडी अपडेट गर्नु अपरिपक्व कदम भएको धेरैको आकलन छ।

‘बालेनफरपीएमनेपाल’ शब्दावलीले उनले आफैंलाई प्रधानमन्त्री भनिसकेका हुन्,  अथवा केही दिनपछि प्रधानमन्त्री हुने म नै हुँ भनेका हुन् भन्ने स्पष्ट छैन। तर आधिकारिक घोषणा नहुँदै सार्वजनिक गर्नुले अलिक दम्भ देखाएको जस्तो देखिएको छ। यदि बालेन साहलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अगाडि बढाएमा उनले यही ईमेल आईडीलाई आधिकारिक रुपमा प्रयोग गर्न सक्ने देखिन्छ।

यसअघि स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरको मेयर पदमा जितेका शाहले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनको गृहजिल्लामा फराकिलो मतान्तरले पराजित गरेका हुन्।

नयाँ सरकार केही दिनभित्रै गठन हुने प्रक्रियामा रहेको छ। सामाजिक सञ्जाललाई बढी उपयोग गर्ने पार्टी र व्यक्ति भएकाले आफ्नो फेसबुक पेजमै यो इमेल आईडी अपडेट गर्नुले पार्टीले शाहलाई नै प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न लागेको आकलन गर्न सकिन्छ।

उनले फेसबुकमा नयाँ इमेल अपडेट गरेपनि अर्को सामाजिक सञ्जाल एक्समा भने पुरानै इमेल रहेको देखिन्छ।

प्रकाशित: १ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार