निर्वाचनपछिको हप्ता नेपालको दैनिक इन्टरनेट खपत पहिलोपल्ट १०० गिगाबिट पुग्यो, यस्तो छ कारण

  • Technology Khabar | २८ फाल्गुन २०८२, बिहीबार
निर्वाचनपछिको हप्ता नेपालको दैनिक इन्टरनेट खपत पहिलोपल्ट १०० गिगाबिट पुग्यो, यस्तो छ कारण

काठमाडौं ।

– साजन सुबेदी

नेपालको इन्टरनेट खपत निर्वाचन पछिको हप्तामा पहिलोपटक १०० गिगाबिट पुग्यो। नेपालमा इन्टरनेटको डाटा राख्ने संस्था नेपाल इन्टरनेट एक्सचेञ्जको तथ्याङ्कले गत आईतबार अर्थात् फागुन २४ गते इतिहासमै पहिलोपटक १०० गिगाबिट पुगेको हो।

उक्त हप्ता इन्ग्रेस अर्थात् डाउनलोडको आँकडा औसतमा ४२.१६ गिगाबिट र ईग्रेस अर्थात् अपलोडको आँकडा औसतमा ४१.३९९ रहेकोमा आइतबारको अधिकतम इन्ग्रेस आँकडा ९९.५९५ र एग्रेस आँकडा ९९.३९९ गिगाबिट रहेको तथ्याङ्कले देखाएको छ।

कसरी मापन हुन्छ दैनिक इन्टरनेट खपत ?

इन (डाउनलोड / इन्ग्रेस/ भित्र आएको ट्राफिक): इन्टरनेटबाट हाम्रो कम्प्युटर वा मोबाइलमा आएको डाटा। जस्तै भिडियो हेर्नु, फाइल डाउनलोड गर्नु, वेबपेज खोल्नु।

आउट (अपलोड / एग्रेस/  बाहिर गएको ट्राफिक): हाम्रो कम्प्युटर वा मोबाइलबाट इन्टरनेटतर्फ पठाइएको डाटा। उदाहरण: इमेल पठाउनु, फोटो वा भिडियो फेसबुक/यूट्युबमा अपलोड गर्नु, अनलाइन क्लासमा आफ्नो भिडियो पठाउनु।

साधारण प्रयोगकर्ताहरूका लागि प्रायः इन (डाउनलोड) धेरै हुन्छ, किनकि भिडियो हेर्ने, वेब ब्राउज गर्ने, फाइल डाउनलोड गर्ने जस्ता काम बढी हुन्छ। तर व्यवसाय, कन्टेन्ट क्रिएटर वा क्लाउडमा फाइल अपलोड गर्ने प्रयोगकर्ताहरूका लागि आउट (अपलोड) पनि ठूलो हुन सक्छ।

इन्टरनेट सेवा प्रदायक वा एनपीआईएक्सजस्ता एक्सचेन्जले दुवै “इन” र “आउट” ट्राफिक मापन गर्छन्, ताकि नेटवर्क सन्तुलन मिलाउन र ब्याण्डविथ बचत गर्न सकियोस्।

इन्टरनेट

कस्तो बेला बढ्छ डाटा खपत?

इस्टलिङ्कका चिफ टेक्निकल अफिसर (सीटीओ) पुरन थापा भन्छन्, ‘सामान्यतया: कुनै विशेष इभेन्ट भएका बेला स्थानीय रुपमा होस्टिङ भएका वेबसाइटहरु उपभोक्ताले भिजिट गर्ने भएकाले त्यस्तो बेला इन्टरनेट खपतको ग्राफ ह्वात्तै बढ्छ।’

सीटीओ थापाको भनाईमा उदाहरणका रुपमा एसईईका बेला राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, महिनाको अन्त्यमा कर कार्यालयको वेबसाइट तथा  विभिन्न सरकारी कार्यालयमा आवेदन बुझाउने म्याद सकिने बेलातिर धेरैजनाले वेबसाइट खोल्ने हुँदा यस्तो अवस्था आउँछ। यसको एकमात्र पूर्वशर्त भनेको उक्त वेबसाइटहरु नेपालबाटै होस्टिङ गरिएको हुनुपर्छ।

सामान्यतया अन्य दिनहरुमा अधिकतम इन/आउट  ७७/७८ गिगाबिट हाराहारी रहँदा यो हप्ता इन्टरनेट खपत बढ्नु र आइतबार लगभग २५ प्रतिशतभन्दा बढीले उकालो लाग्नुमा निर्वाचनको परिणाम विभिन्न अनलाइन सञ्चारमाध्यम, निर्वाचन आयोगको वेबसाइट, हाम्रोपात्रोलगायतका समाचार एग्रिगेटर, टिकटक, रील्स, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा यूट्युब जस्ता प्लेटफर्ममा प्रकाशन प्रसारण भएका कारण हुनसक्ने अनुमान गरिएको छ।

यसबाहेक उक्त दिन अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टि-ट्वाण्टी विश्वकपको भारत र न्यूजिल्याण्डबीचको फाइनल रहेको थियो। हिजोआज टेलिभिजनको सट्टा लाइभ स्ट्रिमिङमार्फत् खेल तथा अन्य कार्यक्रम हेर्ने चलन बढेको छ जसको लागि तीव्र गतिको इन्टरनेट आवश्यक पर्दछ। यस हिसाबले पनि आइतबार अन्य दिनको भन्दा अत्यधिक मात्रामा इन्टरनेट खपत भएको आकलन गर्न सकिन्छ।

यस सम्बन्धमा एनपिआईएक्सका संचालक समित जाना भन्छन्, ‘निर्वाचनको परिणाम घोषणा हुने क्रम चलिरहेकै थियो। त्यसमाथि टि-ट्वाण्टी वर्ल्ड कपको फाइनल पनि त्यसै दिन परेको थियो। यस हिसाबले उपभोक्ताले विभिन्न वेबसाइट र सामाजिक सञ्जालमार्फत् चुनावी परिणामको जानकारी लिएको र ओटीटीमार्फत् टेलिभिजन र लाइभ स्ट्रिमिङ हेरेका कारण इन्टरनेट खपत बढेको हाम्रो अनुमान छ।’

नेपालमा डिजिटल गतिबिधिहरु बढ्दैजाँदा इन्टरनेट खपत थप बढ्ने अपेक्षा गरिएको छ।

कसलाई फाइदा कसलाई बेफाइदा?

इन्टरनेट खपतको ग्राफ उकालो लाग्नुले खासै कसैलाई बेफाइदा हुँदैन। नेपालमै होस्टिङ भएका वेबसाइटको सबै ट्राफिक नेपालमै रहने हुनाले प्रत्यक्षरुपमा विदेश जाने डलर जोगिन्छ।

यसअघि अधिकांश वेबसाइट विदेशबाट होस्टिङ हुने हुँदा हजारौं डलर विदेश जाने गरेकोमा नेपालबाटै होस्टिङ भएका वेबसाइटहरुमा आउने ट्राफिकबापतको रकम नेपालमै बस्छ। यसरी हेर्दा विदेशी मुद्राको सञ्चितिमा थोरैभए पनि योगदानसकित समग्र अर्थतन्त्रमा योगदान पुग्छ।

के हो इन्टरनेट एक्सचेञ्ज नेपाल?

एनपीआईएक्सका नामले चिनिने इन्टरनेट एक्सचेञ्ज नेपाल सन् २००२ मा नेपालकै पहिलो इन्टरनेट एक्सचेन्ज प्वाइन्टको रूपमा स्थापना गरिएको संस्था हो। नेपालमा होस्टिङ गरिएका वेबसाइटहरुको ट्राफिक यसै स्विचमार्फत् आउँछ।

यो कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा गैर नाफामूलक कम्पनीको रूपमा दर्ता भएको छ।

हाल एनपीआईएक्सका २ स्थानमा २८ सदस्यहरू पियरिङ गर्दैछन्, जसले नेपालभरका करिब १ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्तालाई सेवा दिइरहेका छन्।

प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार