
काठमाडौं ।
उपभोक्ता केन्द्रित एआई बजारमा अझै पनि च्याटजीपीटीको प्रभुत्व रहेको नयाँ अध्ययनले देखाएको छ। प्रविधि लगानी संस्था एण्ड्रिसेन होरोविट्जले सार्वजनिक गरेको तथ्यांकले उपभोक्ता एआई प्रयोगको बजार संरचनाबारे विस्तृत विश्लेषण प्रस्तुत गरेको हो।
अध्ययन अनुसार ओपनएआईद्वारा विकसित च्याटजीपीटी धेरै पक्षमा अझै अग्रस्थानमा छ। तर यसको स्थान विभिन्न प्रतिस्पर्धीबाट चुनौतीमा परेको पनि देखिएको छ। यसको प्रमुख प्रतिस्पर्धी जेमिनी हो जुन गुगलले विकास गरेको एआई सेवा हो। गुगलको विशाल विश्वव्यापी प्रयोगकर्ता आधार र सर्च प्लेटफर्मसँगको एकीकरणले जेमिनीलाई वितरणका हिसाबले ठूलो फाइदा दिएको छ।
अध्ययनका अनुसार मोबाइल प्लेटफर्ममा एआई आधारित एपहरू डेस्कटपभन्दा अझ बढी प्रयोग भइरहेका छन्। यद्यपि च्याटजीपीटीको बजार हिस्सा क्रमशः घटिरहेको देखिए पनि यसको मुख्य कारण बजारको तीव्र विस्तार र नयाँ प्रतिस्पर्धीहरूको प्रवेश हो। त्यसैबीच च्याटजीपीटीले आफ्नो एक अर्बभन्दा बढी मासिक सक्रिय प्रयोगकर्तामध्ये धेरैलाई सशुल्क सदस्यतामा रूपान्तरण गर्न सफल भइरहेको अध्ययनले उल्लेख गरेको छ।
भौगोलिक रूपमा हेर्दा अमेरिका र चीनबीच प्रभावको स्पष्ट विभाजन देखिन्छ। चीनमा डीपसिक र बाइटडान्सले विकास गरेको डोबाओले बजारमा प्रभुत्व जमाएका छन्।
प्रति व्यक्ति आधारमा जनरेटिभ एआई प्रयोगको विश्लेषणले केही रोचक प्रवृत्ति पनि देखाएको छ। विकास स्तर र सहरीकरण बढी भएका स्थानहरूमा नियमित प्रयोगकर्ता धेरै देखिएका छन्। तर यस्तो सूचीमा अमेरिका अपेक्षाभन्दा तल रहेको अध्ययनले देखाएको छ।
उता एन्थ्रोपिकले विकास गरेको एआई प्रणाली क्लोड उपभोक्ता बजारको सूचीमा धेरै माथि नदेखिनुको कारण यसको मुख्य लक्ष्य उद्यम र सफ्टवेयर विकास क्षेत्र भएको बताइएको छ।
यसैबीच ओपनएआई र गुगलका केही कर्मचारीहरूले एन्थ्रोपिकले हालै दायर गरेको मुद्दामा समर्थन जनाएका छन्। उनीहरूका अनुसार सरकारले एआई प्लेटफर्मलाई आफ्ना नैतिक सुरक्षा मापदण्डबेवास्ता गर्न दबाब दिने प्रवृत्ति स्थापित भएमा त्यसले सम्पूर्ण एआई उद्योग र विश्वका लागि गलत उदाहरण स्थापित गर्न सक्छ।
प्रकाशित: २७ फाल्गुन २०८२, बुधबार