
काठमाडौं ।
ओपनएआईले बिहीबार जीपीटी-५.४ नामक नयाँ फाउन्डेसन मोडेल सार्वजनिक गरेको छ, जसलाई “व्यावसायिक कामका लागि अहिलेसम्मकै सबैभन्दा सक्षम र प्रभावकारी फ्रन्टियर मोडेल” भनेर वर्णन गरिएको छ।
नयाँ मोडेलको सामान्य संस्करणसँगै गहिरो तर्क-विश्लेषण गर्ने क्षमतामा ध्यान दिने जीपीटी-५.४ थिङ्किङ, र उच्च प्रदर्शनका लागि अनुकूल बनाइएको जीपीटी-५.४ प्रो सहित दुई विशेष संस्करण पनि उपलब्ध छन्।
एपीआई संस्करणमा १ मिलियन टोकनसम्मको कन्टेक्स्ट विन्डो उपलब्ध हुने बताइएको छ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो मानिन्छ।
कम्पनीका अनुसार जीपीटी-५.४ ले अघिल्लो मोडेल जीपीटी‑५.२ को तुलनामा समान समस्या समाधान गर्न कम टोकन प्रयोग गर्ने भएकाले यसको टोकन दक्षता पनि सुधारिएको छ।
बेञ्चमार्क परीक्षणहरूमा पनि मोडेलले उल्लेखनीय सुधार देखाएको छ। यसले ओएसवर्ल्ड‑भेरिफाइड बेञ्चमार्क र वेबअरिनामा कम्प्युटर प्रयोग सम्बन्धी परीक्षणमा नयाँ रेकर्ड कायम गरेको छ। त्यस्तै ज्ञान-आधारित काम मापन गर्ने जीडीपीभल बेञ्चमार्क मा ८३ प्रतिशत अंक प्राप्त गरेको छ।
व्यावसायिक सीप परीक्षण गर्ने मर्कोर एपेक्स‑एजेन्ट्स बेञ्चमार्कमा पनि जीपीटी-५.४ अग्रस्थानमा रहेको बताइएको छ। उक्त परीक्षण कानुन र वित्त क्षेत्रका कार्यहरू जाँच गर्न प्रयोग गरिन्छ।
ब्रेण्डन फूडीका अनुसार जीपीटी-५.४ ले प्रेजेन्टेशन स्लाइड, वित्तीय मोडेल र कानुनी विश्लेषणजस्ता दीर्घकालीन कार्यहरू तयार गर्न उत्कृष्ट प्रदर्शन देखाएको छ।
त्रुटि घटाउने पक्षमा पनि सुधार गरिएको छ। ओपनएआई का अनुसार जीपीटी-५.४ ले व्यक्तिगत दाबीमा गल्ती गर्ने सम्भावना ३३ प्रतिशतले कम गरेको छ भने समग्र प्रतिक्रियामा त्रुटि हुने सम्भावना १८ प्रतिशतले घटेको टेकक्रञ्चले उल्लेख गरेको छ।
एपीआई प्रयोगका लागि कम्पनीले टूल सर्च नामक नयाँ प्रणाली पनि ल्याएको छ। यसले आवश्यक पर्दा मात्र उपकरणको विवरण खोज्ने भएकाले धेरै टुल भएका प्रणालीमा अनुरोध छिटो र सस्तो बन्ने बताइएको छ।
सुरक्षाको दृष्टिले पनि नयाँ मूल्याङ्कन समावेश गरिएको छ, जसले मोडेलको चेन-अफ-थट अर्थात् बहु-चरणीय कार्य गर्दा देखाइने सोच-प्रक्रियाको परीक्षण गर्छ। परीक्षणले जीपीटी-५.४ थिङ्किङ संस्करणमा छलपूर्ण व्यवहार हुने सम्भावना कम रहेको देखाएको कम्पनीले जनाएको छ।
प्रकाशित: २३ फाल्गुन २०८२, शनिबार