
काठमाडौं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टर तथा निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम) को बुधबार निरीक्षण गरेका छन्।
सो प्रणालीमार्फत जनशक्ति पालिकास्तरसम्म कसरी परिचालन भएको छ र निर्वाचनमा खटिएका सबैको जानकारी प्राप्त गर्न सकिनेछ। यसले घटना र निर्वाचन विरोधी गतिविधिलाई नियमन गर्न सहज हुने जनाइएको छ।
प्रणालीबाट प्रहरी जनशक्ति, म्यादी प्रहरी, मतदानस्थल र मतपेटिकाको अवस्था, उम्मेदवारी विवरण र मतदाताको विवरण लिन सकिन्छ।मतदान स्थल र मतपेटिकाको स्थलगत तथा संख्यात्मक अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचनको हरेक गतिविधिको ‘मनिटरिङ’ गर्न यो सफ्टवेयर विकास गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रणालीबारे जानकारी दिँदै मतदानस्थलमा मतपेटिका पुगे/नपुगेको, मतदान प्रक्रिया सुरु भए/नभएको तथा मतदान रोकिएको लगायतका विवरण प्राप्त हुने जानकारी दिए।
उक्त केन्द्रमा ४१ ओटा ‘रियल टाइम’ भिडियो क्यामरा जडान गरिएको छ, जसबाट ४१ ओटा मतदान केन्द्रको प्रत्यक्ष अनुगमन गरिन्छ। सो अवसरमा गृहमन्त्री अर्यालले सुरक्षा निकायले प्रविधि र यसको व्यवस्थापनमा ठूलो फड्को मारेको आभास भएको बताए। उनले प्रविधिमा सबै ‘अपडेट’ हुन आग्रह गर्दै आगामी दिनमा सुरक्षा निकाय थप प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए।
यो प्रणालीका माध्यमबाट देशका ७७ वटै जिल्लाका निर्वाचन गतिविधिको सहज रूपमा अनुगमन गर्न सकिन्छ । मतदान केन्द्र, प्रदेश कमान्ड पोस्ट र जिल्ला सुरक्षा समितिबाट निर्वाचनका हरेक गतिविधिको निगरानी गरिनेछ ।
मोबाइल टोली र सीसी क्यामेराबाट ‘लाइभ’ अनुगमनका साथै सीमा सुरक्षाको अवस्थाबारे पनि जानकारी लिन यो प्रणाली उपयोगी हुनेछ।
यसैगरी देशभर एआई फिचर सहित जडान भएका ७ सय ८६ वटा सिसिटिभिबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधिहरू कमाण्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ। ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगंजमा ६४ वटा सिसिटिभि जडान गरिएको छ ।
सिसिटिभि क्यामरामा एआई फिचर सहितको Face recognition, Automatic Number plate recognition, Behavior Analysis, Smart AI Feature लगायतको विशेषता रहेको छ। प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारको लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ। देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सिसिटिभि क्यामेराको कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ।’
यस्तै नेपाल प्रहरीले निर्वाचन सुरक्षा लक्षित रियल टाइम भिडियो सर्भिलेन्स क्यामरा सहितको रेडियो सेट संवेदनशील मतदान स्थलहरूमा वितरण गरेको छ। यसबाट पनि मतदान स्थलको गतिविधहरू सिधै कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी हुनेछ। सबै मतदान स्थलहरूमा संचार सम्पर्क हुने गरी संचार साधनको उचित व्यवस्थापन गरिएको छ। साथै कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी हुने गरी आवश्यकता अनुसार मतदानस्थल वरिपरि सुरक्षा व्यवस्थापनको अनुगमन गर्नको लागि ड्रोनको प्रयोग समेत गरिने बताईएको छ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित एआई सेलले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको बताएको छ। सेल मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयमा परिचालित साइबर प्रहरीबाट यस्ता गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन कार्य भइरहेको जनाएको छ।
प्रकाशित: २० फाल्गुन २०८२, बुधबार