मोबाइल वर्ल्ड कङ्रेस औपचारिक रुपमा शुरु: पहिलो दिन के के सार्वजनिक भए?

  • Technology Khabar | १९ फाल्गुन २०८२, मंगलवार
मोबाइल वर्ल्ड कङ्रेस औपचारिक रुपमा शुरु: पहिलो दिन के के सार्वजनिक भए?
फाइल

काठमाडौं ।

विश्वकै ठूलो वार्षिक प्रविधि प्रदर्शनी मोबाइल वर्ल्ड काङ्रेस (एमडब्लूसी) २०२६ औपचारिक रुपमा हिजो मार्च २ आइतबारदेखि बार्सिलोनामा सुरु भएको छ।

मार्च ५ सम्म चल्ने यस कार्यक्रममा आधिकारिक सुरुआतअघि नै सप्ताहन्तभर नयाँ घोषणा सार्वजनिक भएका थिए। हरेक वर्षझैं यसपटक पनि नयाँ स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, रोबोट र एआईसम्बन्धी उपकरणहरू केन्द्रमा छन्।

कार्यक्रमस्थलबाट इन्ग्याजेटका म्याट स्मिथले प्रत्यक्ष रिपोर्टिङ गरिरहेका छन्। यस वर्षको आकर्षणमध्ये शाओमी १७ अल्ट्रा, अनरको रोबोट फोन र लेजियन गो फोल्डजस्ता अवधारणा (कन्सेप्ट) उपकरण चर्चामा छन्।

लेनोभोका कन्सेप्ट र नयाँ उत्पादन

लेनोभोले एमडब्लूसीमा धेरै नयाँ उत्पादन र अवधारणा सार्वजनिक गरेको छ। सबैभन्दा धेरै चर्चा कमाएको उपकरण भने लेजियन गो फोल्ड हो। यो फोल्डेबल गेमिङ ह्यान्डहेल्ड कन्सेप्ट उपकरणमा लचकदार डिस्प्ले छ, जुन पूर्ण रूपमा खोल्दा ११.६ इन्चसम्म फैलिन्छ र मोड्दा ७.७ इन्चमा सीमित हुन्छ। यसमा छुट्याउन मिल्ने कन्ट्रोलर, विभिन्न माउन्टिङ पोइन्ट, र ट्याब्लेटलाई किकस्ट्यान्ड शैलीमा अड्याउन सकिने फोलियो कभर छ।

यसले ल्यापटप मोडसमेत समर्थन गर्छ जहाँ वायरलेस किबोर्ड जोड्न सकिन्छ। दायाँपट्टिको गेमप्याड माउसका रूपमा प्रयोग गर्न मिल्ने, सानो स्क्रोल ह्वील र लुकेको सेन्सरसहित आउँछ।

यसमा सानो गोलाकार ओएलईडी डिस्प्ले पनि छ, जसले समय जस्ता विजेट देखाउन वा टचप्याडका रूपमा काम गर्न सक्छ। यद्यपि यो हाल अवधारणामै सीमित छ र बजारमा आउँछ वा आउँदैन भन्ने स्पष्ट छैन।

लेनोभोले ‘मोड्युलर एआई पीसी’ कन्सेप्ट पनि देखाएको छ, जसमा दुईवटा डिस्प्ले र छुट्याउन मिल्ने किबोर्ड छ। यसमा हट–स्वाप गर्न मिल्ने पोर्ट (यूएसबी-सी, यूएसबी-ए, एभडीएमआई आदि) को सुविधा देखाइएको थियो।

नयाँ ल्यापटप र ट्याब्लेट

कन्सेप्टबाहेक लेनोभोले २०२६ का लागि आफ्ना केही उत्पादन अद्यावधिक गरेको छ।

  • योगा ९आई टू-इन-वन अरा एडिशन जेन११ – सुरुआती मूल्य १,९४९ डलर
  • योगा प्रो ७ए (१५.३ इन्च) – २,०९९ डलर
  • आइडियाप्याड स्लिम ५आई अल्ट्रा – ७९९ डलर

इन्ग्याजेटका अनुसार यी सबैमा कोपाइलट प्लस सुविधा समावेश गरिएको छ। विद्यार्थीका लागि आइडिया ट्याब प्रो जेन २ (१३ इन्च) ४१९ डलरबाट सुरु हुन्छ जसमा  क्विरा एआई सहायक उपलब्ध छ।

थिंकप्याड लाइनअपमा पनि अपग्रेड आएको छ। साथै ४९९ डलरको औद्योगिक ट्याब्लेट थिङ्कप्याड एक्स११ सार्वजनिक गरिएको छ।

गेमिङका लागि ८.८ इन्चको लेजियन ट्याब जेन ५ (८४९ डलर) मा स्न्यापड्रागन ८ जेन ५ चिपसेट, १६ जीबी र्याम, ५१२ जीबी स्टोरेज र ९,००० एमएएच ब्याट्री छ। यो मे महिनामा उपलब्ध हुनेछ। त्यसपछि जुलाईमा लेजियन ७ए जेन ११ (२,२९९ डलरबाट) आउनेछ।

एआई रोबोट र अवधारणा

लेनोभोले एआई वर्कमेट कन्सेप्ट (डेस्कटप रोबोट) र एआई वर्क कम्प्यानियन कन्सेप्ट (डिस्प्ले/घडी) गरी दुई एआई–आधारित कार्य उपकरण पनि देखाएको छ । वर्कमेट रोबोटको टाउको प्रोजेक्टरका रूपमा प्रयोग गर्न सकिन्छ।

अनरको रोबोट फोन

अनरले आफ्नो ‘रोबोट फोन’ पहिलोपटक प्रत्यक्ष प्रदर्शन गरेको छ। यसमा ४ डिग्री स्वतन्त्रता भएको चलायमान गिम्बलमा जडित क्यामेरा छ, जुन प्रयोग नभएको बेला पछाडिको भागमा भित्र लुक्छ। डेमोमा क्यामेराले संगीतसँगै टाउको हल्लाउँदै प्रतिक्रिया दिएको देखाइएको थियो।

कम्पनीका अनुसार मुख्य क्यामेरामा २०० मेगापिक्सेल सेन्सर छ। यसमा तीन–अक्षीय स्थिरिकरण, सिर स्टेडी भिडियो र एआई अब्जेक्ट ट्र्याकिङ मोड उपलब्ध हुनेछन्। फोन यसै वर्षपछि बजारमा ल्याइने योजना छ। अनरले औद्योगिक तथा घरेलु प्रयोगका लागि ‘अनर रोबोट’ नामक रोबोट पनि प्रस्तुत गरेको छ।

अनर म्याजिक भी६

अनरले अनर म्याजिक भी६ पनि सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो आफ्नो श्रेणीमा सबैभन्दा पातलो फोल्डेबल फोन हो — सेतो मोडेलमा ८.७५ मिमी (फोल्ड गर्दा) र ४.० मिमी (खोल्दा)। यसमा स्न्यापड्रागन ८ एलिट जेन ५, १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज छ। क्यामेरातर्फ दुई ५० मेगापिक्सेल लेन्स, एक ६४ मेगापिक्सेल टेलिफोटो र २० मेगापिक्सेल सेल्फी क्यामेरा समावेश छन्।

अन्तर्राष्ट्रिय संस्करणमा ६,६६० एमएएच ब्याट्री हुनेछ भने चीनमा बिक्री हुने संस्करणमा ७,००० एमएएचभन्दा बढी क्षमताको ब्याट्री रहनेछ। मूल्य र उपलब्धताबारे कम्पनीले अझै जानकारी दिएको छैन।

प्रकाशित: १९ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार