मोबाइल फोनको अवैध आयात रोक्न अनलाइन सिस्टम, वेबमा आधारित सफ्टवेयर संचालन

Technology Khabar २६ बैशाख २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले रेडियो टेलिकम्यूनिकेसन उपकरणहरुको टाइप अप्रुभल अब वेबमा आधारित भएर गर्ने भएको छ । प्राधिकरणले पूर्णरुपमा कार्यालयलाई अटोमेशनमा लाने उद्धेश्यअनुसार टाइप अप्रुभललाई वेबमा आधारित सफ्टवेयर तयार पारेको छ ।

सो वेबमा आधारित सफ्टवेयर संचालनको प्रकृया र बिबरणबारे प्राधिकरणले आयोजना गरेको कार्यशालामा प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले अवैधरुपमा आयात हुने मोबाइल डिभाइसलाई रोक्नका लागि प्राधिकरणले यो सफ्टवेयर ल्याएको बताए ।

‘हाम्रो अध्ययनमा अझै बजारमा आईएमईआई दर्ता नभएका मोबाइल फोनहरु बिक्री भईरहेको भेटिएको छ, खुल्ला सिमानाको कारणले गर्दा विभिन्न तरिकाले ग्रे मार्केटबाट धेरै मोबाइल आईरहेको छ,’ कार्यबाहक अध्यक्ष खनालले भने ।

उनले वेबमा आधारित सिस्टममा जाँदै गरेको भन्दै छिटै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम आउने बताए ।

कार्यक्रममा बोल्दै त्रिभुवन भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कर्ण प्रसाद तिमल्सिनाले भन्सारबाट व्यक्तिले ल्याउने मोबाइल फोनमा अधिक भन्सार शुल्क लिने गरिएको जानकारी दिए । उनले चालु आर्थिक वर्षमा गत वर्षको भन्दा आयात घटेको तथ्यांक प्रस्तुत गरेका थिए ।

‘हामीले व्यक्तिले ल्याउने मोबाइल फोनमा ४० प्रतिशत राजस्व लिईरहेका छौं भने व्यवसायीले १८ प्रतिशत मात्र तिरे पुग्छ, र अहिले व्यवसायीका लागि मोबाइल फोनको जाँचपास पनि सरल बनाईएको छ,’ प्रमुख भन्सार अधिकृत तिमल्सिनाले भने ।

उनले २०० अमेरिकी डलरभन्दा बढिका इलेक्ट्रोनिक्स उपकरणहरुमा ट्याक्स लिने गरिएको र एक भन्दा धेरै मोबाइल फोन ल्याएमा पनि भन्सार शुल्क तिर्नुपर्ने जानकारी दिए ।

त्यसैगरि दूरसंचार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले हालसम्म ७ हजार मोडलका उपकरणहरुको टाइप अप्रुभल गरिसकिएको जानकारी दिँदै हाल टाइप अप्रुभल भर्सन ४ सफ्टवेयर संचालनमा ल्याएको बताए ।

‘हामी अब वेबमा आधारित सफ्टवेयर संचालन गरिरहेका छौं, जून व्यवसायीहरुले टाइप अप्रुभलको लागि आफ्नो कार्यालयमा नै बसेर दर्ताको लागि निवेदन दिनसक्नेछन्,’ निर्देशक अर्यालले भने ।
उनले चेकलिस्टसहितको सफ्टवेयर मोडल विकास गरेको बताए ।

कार्यक्रममा विभिन्न मोबाइल आयातकर्ता कम्पनीहरु तथा बिक्रेता कम्पनीहरुका प्रतिनिधिहरुले कसरी अनलाइनमा नै आईएमईआई दर्ता र टाइप अप्रुभलको निवेदन दिन सकिने र त्यसको प्रकृयाहरुको बारेमा जानकारी लिएका थिए ।

दूरसंचार प्राधिकरणको लागि वेबमा आधारित आईएमईआई र टाइप अप्रुभल निवेदनको लागि सफ्टटेक इन्फोसिस प्रालिले सो सफ्टवेयर बनाएको हो ।

प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया