
काठमाडौं ।
सामसङसँग पहिले नै स्याटेलाइट कम्युनिकेसन (उपग्रह सञ्चार) समर्थन भएका स्मार्टफोनहरू छन्। तर हालै अनावरण गरिएको ग्यालेक्सी एस२६ सिरिजको लागि स्याटेलाइट कम्युनिकेसन उपलब्ध हुने वा नहुने भन्ने बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको थिएन। सामसङले अन्ततः ग्यालेक्सी एस२६ सिरिजमा समावेश रहेको ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६+ र ग्यालेक्सी एस२६ अल्ट्राले स्याटेलाइट कम्युनिकेसनलाई समर्थन गर्ने पुष्टि गरेको छ।
सामसङले ग्यालेक्सी एस२६ सिरिजको साथ स्याटेलाइट कम्युनिकेसनको लागि समर्थन विस्तार गर्नाले प्रयोगकर्ता सुरक्षा बढाउने र निर्बाध मोबाइल अनुभवहरू प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनि बताएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
स्याटेलाइट कम्युनिकेसनको समर्थनले प्रयोगकर्ताहरूलाई उपग्रह–आधारित सन्देश र डाटा सेवाहरूमा पहुँच प्रदान गर्नुका साथै परम्परागत नेटवर्कहरू उपलब्ध नभएको बेला आपतकालीन सहायता प्रदान गर्दछ।
“सामसङसँग वायरलेस सञ्चार प्रविधिहरूमा समृद्ध विरासत छ, र हामी विश्वव्यापी साझेदारहरूसँग खुला सहकार्य मार्फत यस क्षेत्रमा नवप्रवर्तनको अग्रपंक्तिमा रहन प्रयासरत छौं। स्याटेलाइट कनेक्टिभिटी मोबाइल परिदृश्यको एक महत्त्वपूर्ण भाग बन्दै जाँदा, हामी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई सञ्चारमा भरपर्दो पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौं, विशेष गरी जब उनीहरूलाई यसको सबैभन्दा बढी आवश्यकता हुन्छ,” सामसङ इलेक्ट्रोनिक्सका प्रमुख, प्रमुख अपरेटिङ अफिसर र मोबाइल एक्सपिरियन्स (एमएक्स) व्यवसायका अनुसन्धान तथा विकास कार्यालयका प्रमुख वोन–जुन चोईले भने।
सामसङले ग्यालेक्सी एस२६ सिरिज सहित चयन गरिएका ग्यालेक्सी स्मार्टफोनहरूको लागि स्याटेलाइट कम्युनिकेसनको समर्थन प्रदान गर्न उत्तरी अमेरिका, युरोप र जापानका टेलिकम अपरेटरहरूसँग साझेदारी गरेको छ।
अमेरिकामा सामसङले एस२५ सिरिज पछि सबै ग्यालेक्सी फ्ल्यागशिपहरूमा ईएसओएस र टेक्स्ट सेवाहरूको लागि भेरिजोनसँग साझेदारी गरेको छ। कम्पनीले ग्यालेक्सी स्मार्टफोनहरूमा स्याटेलाइट कम्युनिकेसनको समर्थन गर्न एटीएण्डटीसँग पनि काम गरिरहेको छ। ग्यालेक्सी एस२१ लाइनअपपछि लन्च गरिएका चयन गरिएका ग्यालेक्सी फ्ल्यागशिपहरू र ग्यालेक्सी ए सिरिज मोडेलहरूले टी–मोबाइलको नेटवर्कमा टी९११, टेक्स्ट र डाटा सेवाहरू समर्थन गर्नेछ।
युरोपमा सामसङले चयन गरिएका ग्यालेक्सी स्मार्टफोनहरूमा स्याटेलाइट कम्युनिकेसनको समर्थनको लागि भर्जिन मिडिया ओ२ सँग साझेदारी गरेको छ। यो सुविधाको समर्थनको लागि कम्पनीले भोडाफोनसँग पनि काम गरिरहेको छ भने स्पेनमा मासओरेन्जसँग संयुक्त परीक्षणहरू मार्चमा सुरु गर्नेछ।
जापानमा गत वर्ष केडीडीआईसँग साझेदारी गरेको सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी एस२२ र पछिका फ्ल्यागशिपहरूको लागि स्याटेलाइट कम्युनिकेसन–बेस्ड टेक्स्ट र डाटा सेवाहरूका साथै भूकम्प र सुनामी वार्निङ सिस्टम (ईटीडब्ल्यूएस) प्रदान गर्दछ। सामसङले ग्यालेक्सी ए सिरिजका स्मार्टफोन र ग्यालेक्सी फ्ल्यागशिपहरूमा स्याटेलाइट कम्युनिकेशन सुविधाहरू प्रदान गर्न सफ्टबैंक, डोकोमो र राकुटेन मोबाइलसँग पनि काम गरिरहेको छ।
प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार