प्रविधिको प्रयोगलाई सुरक्षित राख्न थप सुरक्षा प्रबन्ध समावेश गरिएको ओपनएआईको दावी

  • Technology Khabar | १७ फाल्गुन २०८२, आईतवार
प्रविधिको प्रयोगलाई सुरक्षित राख्न थप सुरक्षा प्रबन्ध समावेश गरिएको ओपनएआईको दावी
फाइल तस्बिर

काठमाडौं ।

ओपनएआईले शनिबार अमेरिकाको रक्षा विभागसँग गरेको सम्झौतामा आफ्नो प्रविधिको प्रयोगलाई सुरक्षित राख्न थप सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ। यो सम्झौता अमेरिकी रक्षा विभागको गोप्य सञ्जालमा प्रविधि प्रयोग गर्नका लागि गरिएको हो।

डोनाल्ड ट्रम्पले शुक्रबार सरकारलाई एन्थ्रोपिकसँगको सहकार्य रोक्न निर्देशन दिएका थिए। त्यसपछि पेन्टागनले उक्त स्टार्टअपलाई आपूर्ति शृङ्खला जोखिमका रूपमा घोषणा गर्ने जनाएको थियो, जसले प्रविधि सुरक्षासम्बन्धी विवादपछि एआई प्रयोगशालालाई ठूलो धक्का पुगेको छ। एनथ्रोपिकले यस्तो जोखिम सूचीकरणलाई अदालतमा चुनौती दिने बताएको छ।

त्यसको केही समयपछि ओपनएआईले शुक्रबार ढिलो आफ्नै सम्झौता घोषणा गरेको थियो। कम्पनीलाई माइक्रोसफ्ट, अमेजन, सफ्टब्याङ्क लगायतले समर्थन गरेका छन्। ओपनएआईले भन्यो, “हामीलाई लाग्छ कि गोप्य एआई प्रयोगसम्बन्धी यसअघिका कुनै पनि सम्झौताभन्दा हाम्रो सम्झौतामा बढी सुरक्षात्मक मापदण्ड (गार्डरेल) छन्, एनथ्रोपिकको सम्झौतासमेत।”

कम्पनीका अनुसार रक्षा विभागसँगको सम्झौतामा तीन वटा स्पष्ट ‘रेड लाइन’ तोकिएका छन्। ओपनएआईको प्रविधि व्यापक घरेलु निगरानीका लागि प्रयोग गर्न पाइने छैन, स्वचालित हतियार प्रणाली सञ्चालन गर्न प्रयोग गर्न पाइने छैन, र उच्च जोखिमयुक्त स्वचालित निर्णय लिन पनि प्रयोग गर्न पाइने छैन।

ओपनएआईले भन्यो, “हाम्रो सम्झौतामा हामीले आफ्ना रेड लाइनहरूलाई फराकिलो र बहु-स्तरीय तरिकाले सुरक्षित गरेका छौं। हाम्रो सुरक्षा प्रणालीमा पूर्ण नियन्त्रण हाम्रो हातमा रहनेछ, क्लाउडमार्फत सेवा उपलब्ध गराइनेछ, स्वीकृत ओपनएआई कर्मचारी प्रक्रियामा संलग्न रहनेछन्, र बलियो करारात्मक सुरक्षा प्रबन्ध रहनेछ।”

पेन्टागनले पछिल्लो एक वर्षमा एनथ्रोपिक, ओपनएआई र गुगलजस्ता प्रमुख एआई कम्पनीहरूसँग अधिकतम २० करोड डलरसम्मका सम्झौता गरेको छ। रक्षा क्षेत्रमा लचकता कायम राख्न र प्रविधि निर्माताले दिएको चेतावनीका कारण सीमित नहुन पेन्टागन प्रयासरत रहेको रोयटर्सले उल्लेख गरेको छ।

ओपनएआईले अमेरिकी सरकारले सम्झौता उल्लङ्घन गरे सम्झौता रद्द हुन सक्ने चेतावनी दिएको छ। तर कम्पनीले “त्यस्तो हुने अपेक्षा नगरेको” पनि जनाएको छ।

कम्पनीले प्रतिद्वन्द्वी एनथ्रोपिकलाई ‘आपूर्ति शृङ्खला जोखिम’को सूचीमा राख्नु नहुने आफ्नो धारणा सरकारसमक्ष स्पष्ट पारेको पनि जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार