निर्वाचन आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

  • Technology Khabar | १५ फाल्गुन २०८२, शुक्रबार
निर्वाचन आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन
निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टर। तस्बिर : प्रदीपराज वन्त,निर्वाचन आयोग

काठमाडौं ।

निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गत माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा फागुन १४ गते बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ ओटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ।

प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३८६, मतदाता शिक्षासम्बन्धी १५७ र अन्य एक हजार १११ रहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार कुल जिज्ञासामा ४२६ ‘भ्वाइस मेल’ रहेका छन्।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम जारी रहेको आयोगले जनाएको छ।

यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकबाट आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य भइरहेको छ।

मतदाता शिक्षा स्वयंसेवकले सम्पादन गरेका कार्यको अनुगमनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनकर्ता तोकी निजहरूबाट अनुगमन तथा सहजीकरणको काम पनि भइरहेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए।

विद्युतीय मतदाता शिक्षा एकाइबाट ४७० सामग्री उत्पादन गरी प्रचारप्रसार

विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा एकाइले हालसम्म ४७० वटा सामग्री उत्पादन गरेर स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ।

यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन गर्नुका साथै आममतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको आयोगका प्रवक्ता भट्टराईले बताए।

मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडियो सन्देश, गीति सन्देश, लघु भिडियो तथा जिङ्गलहरू प्रकाशन एवं प्रसारण गरिरहेको छ। यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन्।

मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ। रासस

प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...