
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय सल्यानले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रशासनले ड्रोनको प्रयोगसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरेको जनाएको हो।
कुनै व्यक्ति वा निकायले अनुमति लिएर सञ्चालनमा रहेका वा अन्य कुनै प्रकारका ड्रोनहरू समेत निर्वाचन भन्दा तीन दिनअघि फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म ड्रोनहरू प्रयोग गर्न नपाइने प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए।
निर्वाचनका बेला मतदान केन्द्र वरपर अनावश्यक भीड, सुरक्षा चुनौती तथा मतदातामा त्रास सिर्जना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै ड्रोन प्रयोगमा रोक लगाइएको हो।
प्रतिबन्ध उल्लङ्घन गरी ड्रोन प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासनले जारी गरेको सूचनामार्फत चेतावनी दिइएको छ।
प्रकाशित: १५ फाल्गुन २०८२, शुक्रबार