
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा इन्जिनियर्स विदआउट बोर्डर्ससँगको कार्यक्रम कार्यान्वयन सहकार्यमा आयोजित ‘आई जात्रा (I Jatra)’ कार्यक्रम सिमराको नेपाल राष्ट्रिय सेकेन्डरी विद्यालयमा सम्पन्न भएको छ।
‘आई जात्रा’ आईल्याब (iLab) परियोजनाअन्तर्गत विद्यार्थीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी तथा बिक्री मेला हो। कार्यक्रममा १५ भन्दा बढी स्टलमार्फत विद्यार्थीहरूले प्रविधि सामग्री, हस्तकला, खाद्य परिकार, खेल गतिविधि जस्ता सिर्जनात्मक उत्पादन तथा सेवा प्रस्तुत गरेको बताईएको छ।
करिब छ महिना अघि विद्यार्थीहरूले आईल्याब तालिम लिएका थिए। तालिमपछिको निरन्तर अभ्यास, शिक्षकहरूको मार्गदर्शन र समूहगत कार्यका आधारमा ‘आई जात्रा’ आयोजना गरिएको हो। विगत दुई वर्षदेखि वल्डलिंक कम्युनिकेशन्स को सामाजिक उत्तरदायित्वअन्तर्गत आईल्याब कार्यक्रम ललितपुर, दार्चुला, स्याङ्जा र सिमरामा सञ्चालन हुँदै आएको छ। यसअघि ललितपुर र दार्चुलामा ‘आई जात्रा’ सम्पन्न भइसकेको छ भने सिमरामा यस पटक गरिएको छ।
कार्यक्रममा बोल्दै वर्ल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानले देशभित्रै सीप, नवप्रवर्तन र उद्यमशीलतामार्फत अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइन्। विद्यार्थीहरुलाई किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक सीपमा रूपान्तरण गर्नु समयको माग भएको उनले बताइन्।
साथै, उनले, कार्यक्रममा स्थानीय सरकार र सरोकारवालालाई विद्यार्थीका उत्पादनको प्रचार–प्रसार, बजारीकरण र व्यवसायीकरणमा व्यवस्थापन गर्नु पर्ने उल्लेख गरिन्। यस्तो सहकार्यले विद्यालयस्तरबाटै उद्यमशील संस्कृति विकास भई भविष्यमा रोजगारदाता उत्पादन गर्ने आधार तयार हुने विश्वास आशा व्यक्त गरिन्।

‘आई जात्रा’ कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्पादन निर्माणदेखि बिक्रीसम्म प्रत्यक्ष अनुभव प्राप्त गर्दै व्यवहारिक सीप विकास गरेका छन्। यसले उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र टोलीमा काम गर्ने दक्षता अभिवृद्धि गरेको छ। आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसरले आत्मविश्वास बढाउनुका साथै बजारको माग र ग्राहक व्यवहार बुझ्ने व्यावहारिक ज्ञानसमेत प्रदान गरेको उल्लेख छ।
वल्डलिंकले ३१ वर्षदेखि देशभर इन्टरनेट सेवा विस्तार गर्दै आएको भए पनि पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन कक्षा, सौर्य ऊर्जा जडान तथा सुरक्षित इन्टरनेट अभियानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार