
काठमाडौं ।
वार्नर ब्रोज डिस्कभरीले मंगलबार प्यारामाउण्ट स्काइडान्सका लागि फेरि वार्ताको ढोका खोलेको छ जसले नेटफ्लिक्ससँगको सम्भावित सम्झौतालाई अनिश्चित बनाएको छ। प्रतिद्वन्द्वी पक्षले आफ्नो प्रस्ताव बढाएर प्रतिशेयर ३१ डलर पुर्याएपछि यस्तो भएको हो।
ब्याटम्यान र ह्यारी पट्टरजस्ता फिल्म बनाउने स्टुडियोको स्वामित्वका लागि भइरहेको तीव्र प्रतिस्पर्धा चरममा पुगेको छ। बोर्डले प्राथमिक रोजाइमा रहेको नेटफ्लिक्स पछि पर्न सक्ने सम्भावना रहेको संकेत दिएको छ।
गत साता प्यारामाउण्टले वार्नर का सेयरधनीका लागि नगद प्रस्ताव सुधार गर्न सकिने संकेत दिँदै बोर्डलाई पुनः वार्तामा फर्काएको थियो। संशोधित प्रस्तावमा नियामक स्वीकृति नपाएमा तिर्नुपर्ने ‘टर्मिनेसन फी’ ५.८ अर्ब डलरबाट बढाएर ७ अर्ब डलर बनाइएको छ। साथै, सेप्टेम्बर ३० पछि पनि सम्झौता पूरा नभए प्रत्येक त्रैमासमा सेयरधनीलाई प्रतिशेयर २५ सेन्ट दिने सहमति जनाएको छ।
यदि बैंकहरूले सम्झौता वित्तीय रूपमा पूरा गर्न सक्ने क्षमताबारे चिन्ता जनाएमा थप इक्विटी योगदान गर्ने पनि प्यारामाउण्टले मानेको छ।
वार्नरको बोर्डले संशोधित प्यारामाउण्ट प्रस्ताव नेटफ्लिक्ससँगको मर्जरभन्दा राम्रो हो कि होइन भन्ने निर्णय भने गरिसकेको छैन, तर थप छलफल गर्ने जनाएको छ। यदि अझ राम्रो प्रस्ताव आयो भने नेटफ्लिक्ससँग आफ्नो प्रस्ताव परिमार्जन गर्न चार कार्यदिवसको समय हुनेछ। नेटफ्लिक्सले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
प्यारामाउण्टले एक वक्तव्यमा वार्नरको बोर्डको निर्णयलाई स्वागत गर्दै सेयरधनी, सिर्जनात्मक समुदाय र उपभोक्तालाई आफ्नो प्रस्तावका लाभ पुर्याउन रचनात्मक रूपमा वार्ता अघि बढाउने बताएको छ।
वार्नर ब्रोज सम्बन्धी प्रतिस्पर्धा जटिल बनेको छ किनकि नेटफ्लिक्स र प्यारामाउण्टले फरक–फरक सम्पत्तिका लागि बोली लगाएका छन्। प्यारामाउण्टको ३१ डलर प्रतिशेयर नगद प्रस्ताव पूरै कम्पनीका लागि हो।
नेटफ्लिक्सले भने फिल्म र टेलिभिजन स्टुडियो, क्याटलग तथा एचबीओ म्याक्स स्ट्रिमिङ सेवा सहितका सम्पत्तिका लागि प्रतिशेयर २७.७५ डलर, कुल ८२.७ अर्ब डलर (शुद्ध ऋण सहित) प्रस्ताव गरेको रोयटर्सले उल्लेख गरेको छ।
वार्नर ब्रोजले आफ्नो टेलिभिजन डिभिजनलाई छुट्टै सूचीकृत कम्पनी डिस्कभरी ग्लोबलका रूपमा अलग गर्ने योजना बनाएको छ। नेटफ्लिक्सको प्रस्तावको मूल्य आंशिक रूपमा डिस्कभरी ग्लोबलको ऋण स्तर र शेयर बजारमा कारोबार सुरु भएपछि यसको इक्विटी मूल्यमा निर्भर रहनेछ।
वार्नरको बोर्डको अनुमान अनुसार डिस्कभरी ग्लोबलको मूल्य प्रतिशेयर १.३३ देखि ६.८६ डलरसम्म हुन सक्छ, जसले सेयरधनीलाई कुल प्रतिफल प्यारामाउण्टको पहिलाको ३० डलर प्रस्तावभन्दा माथि पुर्याउन सक्छ।
मर्निङस्टारका वरिष्ठ इक्विटी विश्लेषक म्याथ्यु डल्जिनले यदि अन्ततः नेटफ्लिक्स विजेता बनेमा सेयरधनी मुद्दा दायर हुन सक्ने बताएका छन्। उनले दुई प्रस्ताव समान सम्पत्तिका लागि नभएकाले कुन राम्रो हो भन्ने निर्णय सधैं केही हदसम्म व्यक्तिनिष्ठ रहने उल्लेख गरेका छन्।
वार्नर ब्रोजले यस साता त्रैमासिक नतिजा सार्वजनिक गर्नेछ, जसले केबल टेलिभिजन सम्पत्तिको मूल्यबारे स्पष्ट तस्वीर दिन सक्छ। प्यारामाउण्टले बुधबार आफ्नो नतिजा सार्वजनिक गर्नेछ।
यो प्रतिस्पर्धाका बीच दुवै सम्भावित खरिदकर्ताको शेयर मूल्य घटेको छ। ईमार्केटरका वरिष्ठ विश्लेषक रोस बेनेसले बजार पूँजीकरण यति घटिसकेको अवस्थामा प्रस्ताव बढाउनु व्यवसायिक स्वार्थभन्दा अहंकारबाट प्रेरित हो कि भन्ने प्रश्न उठ्नु स्वाभाविक रहेको बताएका छन्।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार