
काठमाडौं ।
एरिक्सन र ओक्लाले फाइभजी नेटवर्क स्लाइसिङको प्रदर्शन मापन तथा प्रमाणीकरण गर्न मिल्ने नयाँ टुल सार्वजनिक गरेका छन्।
दुवै कम्पनीले आगामी साता आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा विशेष परीक्षण संस्करणको स्पीडटेस्ट एप प्रदर्शन गर्नेछन्, जसले फाइभजी नेटवर्क स्लाइसिङको कार्यसम्पादन मापन गर्न सक्नेछ।
कम्पनीहरूका अनुसार यो फाइभजी-एडभान्स्ड युगमा महत्वपूर्ण उपलब्धि हो, जसले नयाँ पुस्ताका मोबाइल एप र प्रयोगका लागि आवश्यक “क्वालिटी अफ एक्सपिरियन्स” परीक्षण गर्न सहयोग गर्नेछ। यसअघि उपभोक्ता वा व्यवसायिक उपकरणबाट कुनै विशिष्ट नेटवर्क स्लाइसको प्रदर्शन मापन गर्नु प्राविधिक रूपमा चुनौतीपूर्ण थियो, किनकि परम्परागत स्पीड टेस्टले डिफल्ट इन्टरनेट कनेक्सन मात्र मापन गर्छ।
एरिक्सन र ऊक्ला ले संयुक्त रूपमा विकास गरेको नयाँ विधिले स्पीडटेस्ट एपलाई विशेष नेटवर्क स्लाइस पहिचान गरी परीक्षण गर्न सक्षम बनाउँछ। यसले फरक–फरक सेवाका लागि तय गरिएका सेवा स्तर सम्झौता (एसएलए) हरू वास्तविक समयमा प्रमाणीकरण गर्न उपभोक्ता र सेवा प्रदायकलाई मद्दत गर्ने बताइएको छ।
कम्पनीका अनुसार यसले उपभोक्तालाई आफूले खरिद गरेको सेवा वाचा अनुसार उपलब्ध भइरहेको छ कि छैन भन्ने स्वतन्त्र रूपमा जाँच गर्ने शक्ति दिन्छ।
ऊक्लाका वरिष्ठ सल्लाहकार टिबोर राथोनीले नेटवर्क स्लाइसिङ अब भविष्यको अवधारणा नभई व्यावसायिक वास्तविकता भइसकेको बताएका छन्। उनका अनुसार मापन बिना व्यवस्थापन सम्भव हुँदैन, र एरिक्सन सँगको सहकार्यले प्रिमियम फाइभजी सेवाको मूल्य प्रमाणित गर्न आवश्यक पारदर्शिता प्रदान गर्नेछ।
टेलिकम्स डटकमका अनुसार एमडब्लूसीमा हुने प्रदर्शनमा साधारण फाइभजी कनेक्सन र सेवा–विशेष स्लाइसबीचको प्रदर्शन अन्तर तुलना गरी देखाइनेछ। साथै समर्पित स्लाइसमा वास्तविक समय रिपोर्टिङ पनि प्रस्तुत गरिनेछ।
एरिक्सनले कार्यक्रमअघि अन्य सहकार्यबारे पनि जानकारी दिएको छ। कम्पनीले स्विसकमसँग अटोमेसन, एआई, आरएप र मेसिन लर्निङ मोडेलसम्बन्धी सहकार्यको प्रगति पनि प्रदर्शन गर्नेछ।
प्रारम्भिक चरणमा तीन वटा एरिक्सन आरएप्स सेल एनोमाली डिटेक्टर, अपलिङ्क एनोमाली डिटेक्टर र एनोमाली रुट कज एक्सप्लेनरमा ध्यान केन्द्रित गरिएको छ। दोस्रो चरणमा आरईटी सेल शेपर आरएप्स प्रयोगमा ल्याइनेछ। यी समाधानहरूलाई व्यावसायिक नेटवर्कमा पूर्ण रूपमा एकीकृत गर्ने प्रगतिबारे अद्यावधिक जानकारी दिइनेछ।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार