
काठमाडौं ।
विशेष अदालतले सुनिल पौडेलसमेतको भ्रष्ट्राचार मुद्दामा आज सुनुवाई गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सप्लाई, डेलिभरी एण्ड इन्स्टलेसन एण्ड कमिसनिङ्ग अफ आरआईएससी एण्ड एचसीएल सर्भर्स (Supply, Delivery and Installation and Commissioning of RISC and HCL Servers) अन्तर्गत खरिद भएका उपकरणहरु जडान भए/नभएको वा तिनिहरु कुन अवस्थामा छन भन्ने बारेमा स्पष्ट विवरण उक्त केन्द्रबाट झिकाउन आदेश दिएको छ।
विशेष अदालतका न्यायाधिशत्रय सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उपकरणहरुको अवस्थाको बारेमा जानकारी झिकाउने आदेश जारी गरेको हो।
आदेशअन्तरगत उक्त उपकरणहरु इन्स्टलेसन कन्फिगरेसनको विषयमा आपुर्तिकर्ताबाट ओईएम तालिम भए/नभएको र भएको भए, सो तालिममा सहभागी प्रशिक्षक तथा सहभागीहरुको नामथर पद तथा सम्बद्ध संस्था साथै तालिम सञ्चालन भएको दिन र समयावधिसमेत खुल्ने विवरण उक्त केन्द्रबाट झिकाउन भनिएको छ।
यसैगरी उल्लिखित उपकरणहरु जडान भएको भए उक्त उपकरणहरुको संचालनमा आपूर्तिकर्ताबाट उपलब्ध भए गरेका अन साइट सपोर्टको विवरणहरु समेत पेश गर्न भनिएको छ।
यसैगरी सुनिल पौडेल संलग्न अर्को मुद्दाको सुनुवाई गर्दै विशेष अदालतले उनको विदेशमा रहेको बैंक खाताको बिबरण र रकमको बारेमा जानकारी पेश गर्न भनेको छ।
अदालतले गैरकानूनी सम्पत्ति आर्जनको विषयमा अर्को मुद्दाको सुनुवाई गर्दै सुनिल पौडेलको नाममा सिंगापुर स्थित युनाईटेड ओभरसिज बैंक लिमिटेडमा भएको भनिएको बचत खाता नं. ३०८-९४८३१०८ र ४२६३९१-०२२ तथा मुद्दती खाता नं. ३८०-०२६-१७५-५ को विवरण बुझाउन भएको हो।
उक्त बैंकको जानकारी नेपाल सरकारका तर्फबाट प्राप्त भएको भन्दै सो आदेश बमोजिमको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष सरकारी वकिल कार्यालय काठमाडौ मार्फत झिकाउन भनिएको छ।
यसैगरी, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट प्रतिवादी सुनिल पौडेलको नाममा सिंगापुर स्थित युनाईटेड ओभरसिज बैंक लिमिटेडमा सुनिल पौडेलका नामको बचत तथा मुद्दती खातामा भएको रकमको विवरण सम्बन्धित बैंकबाट प्राप्त भएको नदेखिएको र सिंगापुरसँग नेपालको हालसम्म पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता भइनसकेको अवस्थामा सो बमोजिमको विवरण सिंगापुर स्थित युनाईटेड ओभरसिज बैंक लिमिटेडबाट प्राप्त हुन सक्ने/नसक्ने, बिवरण प्राप्त हुन सक्ने भए बिबरण र बिबरण प्राप्त हुन नसक्ने भए सोही बमोजिमको जबाफ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउन आदेशमा भनिएको छ।
यसैगरी, सुनिल पौडेलका नाममा सिंगापुर स्थित युनाईटेड ओभरसिज बैंक लिमिटेडमा रहेको भनिएको बचत तथा मुद्दती खाता सम्बन्धी विवरण नेपाल राष्ट्र बैंकमार्फत झिकाउन समेत आदेश दिएको छ।
अख्तियारले सुनिल पौडेलसहित दिपक आनन्द, निमबहादुर वली, रमेशप्रसाद पोखरेल, रामशरण गायक, म्याक्स इन्टरनेशनल प्रा. लिमिटेड, अकबर हुसेन र पौडेलका भाई अनिल पौडेलसहितलाई प्रतिवादी बनाएर फरक फरक भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ।
प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार