
काठमाडौं ।
भोडाफोनथ्रीले सार्वजनिक गरेको एक अध्ययनअनुसार बेलायतमा मोबाइल कभरेज सुधारिएमा देशको अर्थतन्त्र वार्षिक ६.६ अर्ब पाउण्डले धनी बन्न सक्ने दावी गरिएको छ।
कन्सल्टेन्सी डब्लूपीआई स्ट्राटेजीले भोडाफोनथ्रीका लागि गरेको सर्वेक्षणले आगामी दशकमा राम्रो मोबाइल कनेक्टिभिटीका कारण ४९ हजारसम्म नयाँ व्यवसाय स्थापना हुन सक्ने र ती व्यवसायले वार्षिक ६.६ अर्ब पाउण्डसम्म अर्थतन्त्रमा योगदान गर्न सक्ने जनाएको छ।
साना व्यवसाय संघ (एफएसबी) का अनुसार सन् २०२५ को सुरुआतमा बेलायतमा ०–४९ कर्मचारी भएका ५.६४ मिलियन साना व्यवसाय थिए, जुन कुल व्यवसायको ९९.२ प्रतिशत हो। ५०–२४९ कर्मचारी भएका मध्यम व्यवसायसमेत जोड्दा यो संख्या ५.७ मिलियन र ९९.९ प्रतिशत पुग्छ।
आर्थिक हिसाबले हेर्दा बेलायतको एसएमई क्षेत्रले गत वर्ष २.८ ट्रिलियन पाउण्ड बराबरको कारोबार गरेको थियो। त्यस सन्दर्भमा ४९ हजार नयाँ व्यवसाय र ६.६ अर्ब पाउण्ड थप योगदान स्वागतयोग्य भए पनि अर्थतन्त्रमा ठूलो भूकम्प ल्याउने स्तरको भने नहुने विश्लेषण गरिएको छ। यद्यपि, राम्रो कनेक्टिभिटीले विद्यमान व्यवसायलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको टेलिकम्स डटकमले उल्लेख गरेको छ।
यो सर्वेक्षण भोडाफोन र थ्री को नेटवर्क एकीकरणमा नयाँ उपलब्धि हासिल भएको अवसरमा सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार यसको मल्टि–अपरेटर कोर नेटवर्क (एमओसीएन) सँग जोडिएका साइटहरूको संख्या ८ हजार पुगेको छ। यसले पहिले भोडाफोन वा थ्री मध्ये कुनैको पनि नेटवर्क नपुगेका १६ हजार ५ सय वर्ग किलोमिटर क्षेत्रलाई कभरेजमा ल्याएको दावी गरिएको छ।
२ हजार व्यक्तिमाथि गरिएको सर्वेक्षणमा सम्भावित व्यवसाय सुरु गर्न चाहनेमध्ये दुई तिहाइले अविश्वसनीय कनेक्टिभिटीका कारण आफूले स्थानीय व्यवसाय सुरु गर्न नसकेको बताएका छन्। एक तिहाइले राम्रो कनेक्टिभिटी भएको क्षेत्र व्यवसाय सुरु गर्न बढी आकर्षक हुने बताएका छन् भने २६ प्रतिशतले यसले आफ्नो निर्णयमा प्रत्यक्ष असर पार्ने बताएका छन्।
भोडाफोनथ्रीका व्यवसाय निर्देशक निक ग्लिडनले कनेक्टिभिटी सुधारिएपछि उद्यमशीलता पनि बढ्ने बताएका छन्। उनका अनुसार द्रुत गतिमा अघि बढ्न चाहने संस्थापकहरूका लागि भरपर्दो पूर्वाधार आवश्यक हुन्छ, जसले स्टार्टअपलाई ग्राहक जित्न, प्रतिष्ठा बनाउन र स्थिर रूपमा विस्तार गर्न मद्दत गर्छ।
अध्ययनले ४० प्रतिशत संस्थापकले व्यवसाय सुरु गर्न स्थान परिवर्तन गरेको देखाएको छ। ग्राहक आधारको अभाव, कमजोर कनेक्टिभिटी र दक्ष जनशक्तिमा पहुँच मुख्य कारण रहेका छन्।
६० प्रतिशतले दैनिक सञ्चालनका लागि कनेक्टिभिटीमा निर्भर रहेको बताएका छन्, जसमा भुक्तानी तथा बिलिङ (५० प्रतिशत), अनलाइन मार्केटिङ र सामाजिक सञ्जाल (४३ प्रतिशत), ग्राहकसँगको सञ्चार (३९ प्रतिशत) र ई–कमर्स (३६ प्रतिशत) समावेश छन्।
२२ प्रतिशतले सधैं उपलब्ध र सुरक्षित कनेक्टिभिटी अत्यावश्यक भएको बताएका छन् भने ४५ प्रतिशतले यसलाई अत्यन्त महत्त्वपूर्ण मानेका छन्।
एफएसबीकी नीतिगत अध्यक्ष टिना म्याककेन्जीले व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन र प्रतिस्पर्धी रहन मोबाइल कनेक्टिभिटी अनिवार्य भएको बताएकी छन्।
उनका अनुसार ग्रामीण क्षेत्र तथा सहरका केही भागमा फाइभजी विस्तार असमान रहेको छ, जसले व्यवसायको दक्षता घटाउने र विकासको अवसर सीमित पार्ने काम गरिरहेको छ। सरकारले मोबाइल अपरेटरहरूसँग सहकार्य गरी देशभर फाइभजी उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
यसअघि भोडाफोन र थ्री को मर्जर प्रक्रियाका क्रममा पनि यस्तै अध्ययन सार्वजनिक गरिएका थिए, जसमा पी एनएचएसले वार्षिक १ अर्ब पाउण्ड बचत गर्न सक्ने, स्थानीय काउन्सिलहरूले पाँच वर्षमा ७० करोड पाउण्ड बचत गर्न सक्ने, र फाइभजीका कारण रेल ढिलाइ घटेर २५ मिलियन घण्टा उत्पादकत्व बढ्न सक्ने दाबी गरिएको थियो।
अब भोडाफोन र थ्री एकीकृत भइसकेपछि कम्पनीले २०३० सम्म ९९ प्रतिशत जनसंख्यामा फाइभजी स्ट्यान्डअलोन (एसए) सेवा विस्तार गर्न ११ अर्ब पाउण्ड लगानी गर्ने प्रतिवद्धता पूरा गर्नुपर्ने दबाब रहेको छ। २०३४ सम्म यो कभरेज ९९.९६ प्रतिशत पुर्याउने लक्ष्य छ।
दूरसञ्चार मन्त्री लिज लोयडले उच्च गुणस्तरीय र भरपर्दो मोबाइल कनेक्टिभिटी व्यवसाय र आर्थिक वृद्धिका लागि आवश्यक रहेको बताउँदै भोडाफोनथ्री को लगानी र ‘नट स्पट’ हटाउने प्रयासले २०३० सम्म सबै बसोबास क्षेत्रलाई स्ट्यान्डअलोन फाइभजी पहुँचमा ल्याउने सरकारी लक्ष्यलाई सहयोग पुग्ने बताएकी छन्।
यसले बेलायतको मोबाइल नेटवर्क गुणस्तर परीक्षणमा अग्रस्थानमा रहँदै आएको ईईलाई प्रतिस्पर्धा दिन पनि सहयोग गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार