चन्द्रमामा स्याटेलाइट प्रक्षेपणका लागि विशाल “क्याटापल्ट” (मास ड्राइभर) स्थापना गर्ने मस्कको योजना

  • Technology Khabar | ८ फाल्गुन २०८२, शुक्रबार
चन्द्रमामा स्याटेलाइट प्रक्षेपणका लागि विशाल “क्याटापल्ट” (मास ड्राइभर) स्थापना गर्ने मस्कको योजना
तस्बिर: स्पेस डटकम

काठमाडौं ।

अर्बपति इलन मस्कले चन्द्रमामा स्याटेलाइट प्रक्षेपणका लागि विशाल “क्याटापल्ट” (मास ड्राइभर) स्थापना गर्ने योजना अघि सारेका छन्। तर यो अवधारणा नयाँ भने होइन।

गत साता स्पेसएक्सका संस्थापक मस्कले हालै अधिग्रहण गरिएको एक्सएआईका कर्मचारीलाई चन्द्रमामा एआई उपग्रह निर्माण गर्ने कारखाना स्थापना गर्ने इच्छा व्यक्त गरेका थिए। उनले चन्द्र सतहबाट ती उपग्रह अन्तरिक्षतर्फ फ्याँक्न विशाल विद्युत्चुम्बकीय प्रक्षेपण प्रणाली (मास ड्राइभर) आवश्यक हुने बताएका थिए।

फेब्रुअरी २ मा सार्वजनिक अद्यावधिकमा मस्कले “दुईदेखि तीन वर्षभित्र एआई कम्प्युटिङ उत्पादन गर्ने सबैभन्दा सस्तो उपाय अन्तरिक्षमा हुनेछ” भन्ने आकलन गरेका थिए।

स्पेस डटकमका अनुसार फेब्रुअरी ११ मा एक्सएआई का कर्मचारीसँगको बैठकमा उनले पृथ्वीबाट एआई उपग्रह प्रक्षेपण अहिलेको प्राथमिकता भए पनि स्पेसएक्सको स्टारशिप मेगारकेटले अन्य खगोलीय पिण्डमा पनि सञ्चालन सम्भव बनाउने बताएका थिए।

मस्कका अनुसार अन्तरिक्षमै इन्धन भर्ने (इन-स्पेस प्रोपेलान्ट ट्रान्सफर) जस्ता प्रविधिगत प्रगतिका कारण स्टारशिपले चन्द्रमामा ठूलो परिमाणमा कार्गो अवतरण गराउन सक्नेछ। त्यसपछि त्यहाँ वैज्ञानिक तथा उत्पादनसम्बन्धी स्थायी आधार स्थापना गर्न सकिने उनले उल्लेख गरेका छन्।

चन्द्रमाका स्रोत प्रयोग गरेर उपग्रह निर्माण गरी विद्युत्चुम्बकीय मास ड्राइभरमार्फत अन्तरिक्षमा पठाउन सकिने उनको तर्क छ। उनले यसरी वार्षिक ५०० देखि १००० टेरावाट बराबरका एआई उपग्रह गहिरो अन्तरिक्षमा पठाउन सकिने र “कार्दाशेभ स्केल” मा मानव सभ्यतालाई माथिल्लो तहमा पुर्‍याउन सकिने दावी गरेका छन्।

तर चन्द्रमामा मास ड्राइभर प्रयोग गर्ने अवधारणा यसअघि नै प्रस्ताव गरिएको थियो। सन् १९७४ मा अन्तरिक्ष दृष्टा गेरार्ड ओ निलले पहिलोपटक यस्तो विचार अघि सारेका थिए। उनले चन्द्र सतहबाट खनिज अयस्कका टुक्रा अन्तरिक्षमा फ्याँक्ने र त्यही कच्चा पदार्थबाट अन्तरिक्ष उपनिवेश तथा सौर्य ऊर्जा उपग्रह निर्माण गर्ने कल्पना गरेका थिए।

ओ’निलले मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा सहकर्मी हेनरी कोल्म र विद्यार्थी स्वयंसेवकहरूको सहयोगमा प्रारम्भिक मास ड्राइभर नमूना विकास गरेका थिए।

पछि थप विकसित नमूनाले करिब ५२० फिट (१६० मिटर) लम्बाइको प्रणालीले पनि चन्द्र सतहबाट सामग्री अन्तरिक्षतर्फ प्रक्षेपण गर्न सक्ने देखाएको थियो। उनीहरूको टोलीले केही किलोमिटर लामो सञ्चालनयोग्य प्रणालीले वार्षिक ६ लाख टन सामग्री पृथ्वी–चन्द्र लग्रान्ज बिन्दुतर्फ पठाउन सक्ने विश्वास व्यक्त गरेको थियो।

हालै सन् २०२३ मा रोबर्ट पिटरकिनले एयर फोर्स अफिस अफ साइन्टसफिक रिसर्चलाई “लुनर इलेक्ट्रोम्याग्नेटिक लञ्च फर रिसोर्स एक्सप्लोइटेशन टू एन्हान्स नेशनल सेक्युरिटी एण्ड इकोनोमिक ग्रोथ” शीर्षकको प्रतिवेदन पेश गर्दै चन्द्र-आधारित विद्युत्चुम्बकीय प्रक्षेपण प्रणालीको सम्भावनालाई पुनः जोड दिएका थिए।

उनले आधुनिक विद्युत्चुम्बकीय प्रक्षेपण प्रणाली रासायनिक रकेट इन्धन पृथ्वीबाट लैजानुभन्दा सौर्य ऊर्जाको प्रयोग गरी सस्तो र प्रभावकारी हुन सक्ने बताएका छन्।

पिटरकिनले अमेरिकी नौसेनाको गेराल्ड आर फोर्ड परमाणु विमानवाहक जहाजमा प्रयोग भइरहेको विद्युत्चुम्बकीय विमान प्रक्षेपण प्रणालीलाई अझ उच्च गतिमा रूपान्तरण गरी चन्द्र प्रक्षेपणका लागि विकास गर्न सकिने सुझाव दिएका छन्।

उनको प्रतिवेदनमा चन्द्रमा सिलिकन, टाइटेनियम, एल्युमिनियम र फलामजस्ता स्रोतले समृद्ध रहेको उल्लेख छ। साथै चन्द्र पानीको सम्भावनाले पनि भविष्यको चन्द्र अर्थतन्त्रलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उनका अनुसार भविष्यमा चन्द्रमाको स्रोत प्रयोग गरी चन्द्र कक्षमा अन्तरिक्षयानलाई मर्मत, पुनःइन्धन र पुनःआपूर्ति गर्न सकिनेछ, जसले पृथ्वीको गहिरो गुरुत्वाकर्षण क्षेत्रबाट सामग्री लैजानुभन्दा कम लागत पर्नेछ।

यसरी मस्कको चन्द्र “क्याटापल्ट” योजना नयाँ अवधारणा नभए पनि स्टारशिप जस्ता शक्तिशाली प्रक्षेपण प्रणाली र निजी क्षेत्रको तीव्र लगानीका कारण यसलाई व्यवहारमा उतार्ने सम्भावना भने विगतको तुलनामा बढी यथार्थपरक देखिएको स्पेस डटकमले उल्लेख गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार