
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सेवाको गुणस्तर सुधार गर्न नयाँ विनियमावली संसोधन गर्ने भएको छ ।
अहिलेको दूरसंचार सेवामा आएको विकास र परिवर्तनसँगै दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावली २०७३ लाई संसोधन गरेर नयाँ रुपमा ल्याउने भएको हो ।
वर्तमान विनियमावलीमा सुधार र संसोधन गरेर नयाँ नियमावली ल्याउनको लागि प्राधिकरणले निर्देशक अम्बर स्थापितको नेतृत्वमा कमिटी समेत गठन गरेको छ ।
नयाँ विनियमावलीमा अहिलेको मापदण्ड र स्तरलाई थप सुधार गरि नयाँ मापदण्ड र स्तर कायम गर्नेछ ।
त्यसैगरि दूरसंचार सेवा संचालन गर्दा कायम गर्नुपर्ने गुणस्तर, ड्राइभ टेष्ट लगायतका विषयमा समयसापेक्ष सुधार गर्ने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।
यसअघिको विनियमावलीमा तोकिएका गुणस्तरको मापदण्डको परिभाषा समयक्रमसँगै फेरिने हुँदा त्यसलाई अपग्रेड गर्न खोजिएको हो, नयाँ विनियमावली टेलिकम सेवालाई थप स्तरिय बनाउन सहयोग गर्नेगरि ल्याउन लागिएको हो,’ उनले भने ।
प्राधिकरणले सोहि विनियमावलीको आधारमा नै दूरसंचार सेवाको गुणस्तर अनुगमन, निरिक्षण र मापदण्ड तोक्ने गर्दछ ।
प्रकाशित: २० बैशाख २०७६, शुक्रबार