
काठमाडौं ।
विद्यार्थीहरूमा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यले स्किल्सअपले निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा आयोजित ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिता यही माघ २६ गते, सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो।
देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरूले प्रविधि-आधारित नवीन समाधानहरू प्रस्तुत गरेका थिए। ‘स्वस्थ भविष्यका लागि प्रविधि’ भन्ने मूल थिममा आयोजित प्रतियोगितामा करिब १०० परियोजनाहरू प्रदर्शनीमा राखिएका थिए।
प्रतियोगिता तीन फरक-फरक ट्र्याकमा सञ्चालन गरिएको थियो। पहिलो ट्र्याक ‘इनोभेसन एन्ड आन्टरप्रेनरसीप’ अन्तर्गत विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) केन्द्रमा राखी एआई र कोडिङमार्फत वास्तविक समस्या समाधान गर्ने परियोजना प्रस्तुत गरेका थिए।
दोस्रो ट्र्याक ‘वेलनेस वेभ एआई–रोबो च्यालेन्ज’ मा क्वार्की किट प्रयोग गरी निर्माण गरिएका रोबोटहरूले स्वास्थ्य संकटको परिदृश्यमा खोप वितरण तथा बिरामी उद्धारजस्ता कार्य सम्पन्न गरेका थिए।
तेस्रो ट्र्याक ‘रोबो सकर लिग अन्तर्गत विद्यार्थीहरूले आफैं निर्माण गरेका म्यानुअल रोबोटबीच फुटबल प्रतिस्पर्धा गराइएको थियो, जसले मेकानिकल मजबुती र वायरलेस नियन्त्रण क्षमताको परीक्षण गरेको थियो।
स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित परियोजना प्रदर्शनीमा स्मार्ट ह्वीलचेयर, एआईमा आधारित शहरी वर्षा पहिचान प्रणाली, आगलागी तथा ग्यास पहिचान र चेतावनी प्रणाली, बाढी पहिचान तथा चेतावनी प्रणाली, भूमिगत पानीको सतह अनुगमन प्रणाली, वायु गुणस्तर अनुगमन तथा फिल्ट्रेसन प्रणाली, लोरामा आधारित आपतकालीन प्रतिक्रिया प्रणाली, स्मार्ट ग्रीनहाउस, कार्बन ट्र्यापिङ, कार्बन क्यास्केड तथा सेनेटरी प्याड डिस्पेन्सरजस्ता परियोजनाहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रममा स्किल्सअपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल प्रधानले विद्यालय तहदेखि नै बालबालिकालाई एआई र रोबोटिक्ससँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘अबको युग प्रविधिको हो। एआई र रोबोटिक्सको ज्ञान विद्यालय तहदेखि नै आवश्यक भइसकेको छ। त्यसैले कोडेभर बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग जोड्ने हाम्रो एउटा सानो प्रयास हो।’
काठमाडौं विश्वविद्यालयका कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुदन झा कार्यक्रमका प्रमुख अतिथि रहेका थिए। झा सन् २०२५ का लागि स्ट्यानफोर्ड युनिभर्सिटी र एल्सेभियरद्वारा विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा सूचीकृत छन्।
विशेष अतिथिका रूपमा डा. समीर खरेल उपस्थित थिए।
प्रतियोगिताको मूल्यांकन डिजिटल एन्ड बियोन्डका सीईओ सगुन ढुंगाना, वी आरका कार्यक्रम निर्देशक ग्यारी डे ला पोमेराइ, निर्मल माध्यमिक विद्यालय दमौलीका कम्प्युटर विज्ञान विभाग प्रमुख दीपक पन्थ, नेशनल इनोभेसन सेन्टरका प्रविण बोहरा लगायतको निर्णायक मण्डलले गरेको थियो।
प्रतियोगितामा स्वास्थ्य, वातावरण, कृषि, सुरक्षा र सामाजिक प्रभावका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई १२ विधामा राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। बालबाटिका स्कुलले इनोभेसन इन हेल्थ अवार्ड, ज्ञानोदय बालबाटिकाले रोबो केयर इनोभेसन अवार्ड, काठमाडौं न्यू क्यासल स्कुलले गर्ल्स इन टेक अवार्ड प्राप्त गरेको थियो।
प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार