भ्याटिकनले एआईको प्रयोग गर्दै सुरु गर्यो प्रत्यक्ष अनुवाद सेवा

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
भ्याटिकनले एआईको प्रयोग गर्दै सुरु गर्यो प्रत्यक्ष अनुवाद सेवा

काठमाडौं ।

भ्याटिकनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दै प्रत्यक्ष अनुवाद सेवा सुरु गरेको छ। अब होली मास अर्थात् धार्मिक प्रार्थना सभामा सहभागी हुने श्रद्धालुहरूले एआईको सहयोगमा प्रत्यक्ष अनुवाद सुविधा प्रयोग गर्न सक्नेछन्।

पापल ब्यासिलिका अफ सेन्ट पिटरले भाषा सेवा प्रदायक ट्रान्सलेटेडसँग सहकार्य गरी ६० भाषामा प्रत्यक्ष अनुवाद उपलब्ध गराउने व्यवस्था गरेको हो।

“शताब्दीयौंदेखि सेन्ट पिटर बासिलिकाले विभिन्न देश र भाषाका श्रद्धालुहरूलाई स्वागत गर्दै आएको छ। धार्मिक विधिको सन्देश धेरैले बुझ्न सकून् भन्ने उद्देश्यले यो उपकरण उपलब्ध गराएका हौं,” बासिलिकाका आर्चप्रिस्ट कार्डिनल माउरो गाम्बेटीले वक्तव्यमा बताएका छन्।

इन्ग्याजेटका अनुसार उनले ट्रान्सलेटेड सँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै विश्वासद्वारा निर्देशित मानव सिर्जनशीलता एकताको माध्यम बन्न सक्ने उल्लेख गरेका छन्।

भेटिकन भ्रमण गर्ने आगन्तुकहरूले क्यूआर कोड स्क्यान गरेर सेवा प्रयोग गर्न सक्नेछन्। त्यसपछि उनीहरूले धार्मिक कार्यक्रमको प्रत्यक्ष अडियो र पाठ अनुवाद वेब पेजमै पाउनेछन्। यसका लागि छुट्टै एप डाउनलोड गर्नुपर्ने छैन।

यो प्रविधि ट्रान्सलेटेडले सन् २०२४ मा सार्वजनिक गरेको ‘लारा’ नामक अनुवाद एआई उपकरणमा आधारित छ। कम्पनीका अनुसार लाराले पाँच लाखभन्दा बढी मातृभाषी पेशेवर अनुवादकहरूको संवेदनशीलता समेटेर काम गर्ने क्षमता राख्छ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार