२०३० सम्म सिक्सजी सेवा सुरु गर्न पर्याप्त स्पेक्ट्रम अहिले नै उपलब्ध छ: ईयू

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
२०३० सम्म सिक्सजी सेवा सुरु गर्न पर्याप्त स्पेक्ट्रम अहिले नै उपलब्ध छ: ईयू

काठमाडौं ।

युरोपेली संघ (ईयू) ले सन् २०३० सम्म सिक्सजी सेवा सुरु गर्न पर्याप्त स्पेक्ट्रम पहिले नै उपलब्ध रहेको जनाएको छ। मोबाइल उद्योगले धेरैभन्दा धेरै स्पेक्ट्रम सुरक्षित गर्न खोजिरहेका बेला ईयूको रेडियो स्पेक्ट्रम पोलिसी ग्रुप (आरएसपीजी) ले यसमा ब्रेक लगाएको छ।

आरएसपीजीले युरोपको सिक्सजी स्पेक्ट्रम रोडम्यापबारे आफ्नो धारणा सार्वजनिक गर्दै सिक्सजीलाई पहिले नै ‘इलेक्ट्रोनिक कम्युनिकेशन सेवा’ (ईसीएस), विशेषगरी वायरलेस ब्रडब्यान्ड (डब्लूबीबी) अर्थात् मोबाइल सेवाका लागि समन्वय भइसकेका फ्रिक्वेन्सी ब्यान्डमै सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ।

ती ब्यान्डहरू यसप्रकार छन्:

  • १ गिगाहर्जभन्दा तलका लो ब्यान्ड: ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज – देशव्यापी तथा इनडोर सिक्सजी कभरेजका लागि।
    • मिड ब्यान्ड: १५०० मेगाहर्ज, १८०० मेगाहर्ज, २ गिगाहर्ज, २.६ गिगाहर्ज, ३.६ गिगाहर्ज – अर्ध-शहरी तथा शहरी क्षेत्रमा उच्च क्षमताको सिक्सजी सञ्जाल विस्तार र पूरक सहयोगका लागि।
    • हाई ब्यान्ड: २६ गिगाहर्ज, ४२ गिगाहर्ज – अत्यधिक क्षमतायुक्त हटस्पट सिक्सजी कभरेजका लागि।

नोभेम्बरमा आरएसपीजीले सिक्सजी का लागि सुरक्षित गर्न सिफारिस गरेको माथिल्लो ६ गिगाहर्ज ब्यान्ड सन् २०३० सम्म युरोपमा सिक्सजी सुरु गर्न मुख्य ब्यान्ड हुने अपेक्षा गरिएको छ। यसमा अपरेटरहरूले पुरानो स्पेक्ट्रम पुनः व्यवस्थापन (रिफार्मिङ) गर्नुपर्ने आवश्यकता पर्दैन।

आरएसपीजीका अनुसार यसले उपशहरी र शहरी क्षेत्रमा कभरेज तथा क्षमता उपलब्ध गराउन प्रत्येक अपरेटरलाई मिड ब्यान्डमा थप 200 Mहर्ज स्पेक्ट्रम आवश्यक पर्ने मोबाइल उद्योगको माग पूरा गर्न सहयोग गर्न सक्छ।

यसका अतिरिक्त सेलुलर सेवाका लागि औपचारिक रूपमा मान्यता नपाएका अन्य फ्रिक्वेन्सीहरू पनि छलफलमै छन्। तीमध्ये ७०० मेगाहर्जभन्दा तलका विभिन्न ब्यान्ड, ७१२५–७२५० मेगाहर्जको १२५ मेगाहर्ज स्पेक्ट्रम (जुन डब्लूआरसी – २७ मा छलफल हुने तयारीमा छ) तथा सब-टेराहर्ज स्पेक्ट्रम समावेश छन्।

मध्यम–कम शक्ति स्थानीय सञ्जालका लागि पहिचान गरिएको ३.८– ४.२ गिगाहर्ज ब्यान्ड भविष्यमा सिक्सजीका लागि प्रयोग हुनसक्ने सम्भावनालाई पनि नकारिएको छैन।

तर यी फ्रिक्वेन्सीबारे छलफल जारी रहेकाले आरएसपीजी ले हाललाई थप निर्णय नगर्ने संकेत दिएको छ।

टेलिकम् डटकमका अनुसार ईयूको आन्तरिक स्पेक्ट्रम नीति समूहले सावधानीपूर्ण धारणा लिएकोमा आश्चर्य नभए पनि मोबाइल उद्योग भने यसबाट असन्तुष्ट हुन सक्छ, किनकि उद्योगले बढीभन्दा बढी स्पेक्ट्रम उपलब्ध गराउने साहसी कदमको माग गर्दै आएको छ। टेलिकम कम्पनीहरूको तर्फबाट जीएसएमए ले नियमित रूपमा यस्तो बहसमा आफ्नो धारणा राख्दै आएको छ।

नोभेम्बरमा जीएसएमए ले सन् २०३५–२०४० सम्म शहरी क्षेत्रको आवश्यक क्षमता पूरा गर्न थप २–३ गिगाहर्ज स्पेक्ट्रम आवश्यक पर्ने दावी गरेको थियो, जुन मिड ब्यान्ड स्पेक्ट्रम तीन गुणासम्म बढाउनुपर्ने अवस्थासँग सम्बन्धित छ।

यो धारणा आरएसपीजीको ‘पर्ख र हेर’ रणनीतिभन्दा फरक देखिन्छ। त्यसैले सिक्सजी रोडम्यापबारे जीएसएमएले पनि औपचारिक प्रतिक्रिया दिने सम्भावना रहेको छ।

आरएसपीजीले भने २६ गिगाहर्ज र ४२ गिगाहर्ज जस्ता हाई ब्यान्डहरू २०१९ र २०२४ मै डब्लूबीबी सेवाका लागि समन्वय गरिए पनि हालसम्म व्यापक रूपमा प्रयोग नभएको उल्लेख गरेको छ। त्यसैले मोबाइल उपकरण निर्माता कम्पनीहरूलाई ती ब्यान्ड समर्थन गर्ने उपकरण विकास तीव्र बनाउन र नेटवर्क अपरेटरहरूलाई ती फ्रिक्वेन्सी सक्रिय रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

आरएसपीजीले स्पेक्ट्रम साझेदारीलाई पनि प्रभावकारी उपाय मानेको छ। यसको भनाइ अनुसार लो र मिड ब्यान्डमा माग निरन्तर बढ्दै गएकाले स्पेक्ट्रम सेयरिङ समाधान आवश्यक बन्दै गएको छ, र यस क्षेत्रमा थप अनुसन्धान तथा विकास गर्न शैक्षिक समुदाय र उद्योगलाई प्रोत्साहन गरिएको छ।

आरएसपीजीले आफ्नो धारणा सम्बन्धमा सरोकारवालाहरूलाई २७ मार्चसम्म प्रतिक्रिया दिन समय दिएको छ। उद्योग क्षेत्रले यसमा सक्रिय रूपमा भाग लिने अपेक्षा गरिएको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...