
काठमाडौं ।
निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता गर्ने भएको छ।
आयोगले सार्वजनिक सूचनामार्फत निर्वाचनको बारेमा जानकारी निर्वाचनको प्रचारप्रसार, आचारसंहिता एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको बताएको छ।
प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिने छ।
चेतनामूलक टिकटक भिडियो प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। उक्त भिडियोहरुमा हुने भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ। भिडियो संवादमुलक एवंम सन्देशमुलक हुनुपर्नेछ।
एक मिनेटसम्मको भिडियो बनाएर आफ्नो टिकटक, फेसबुक तथा युट्युब च्यानल वा एकाउन्टमा राख्नुपर्नेछ भने त्यही भिडियो लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाउनु पर्नेछ।
उक्त प्रतियोगितामा तोकिएका विषयहरुमध्ये एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २७ माघ २०८२, मंगलवार