
काठमाडौं ।
चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्वपूर्ण फड्को मार्दै पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनस्थित जिउछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी शनिबार प्रक्षेपण गरिएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको हो । अन्तरिक्ष यानले कक्षमा रहेर अन्तरिक्ष यानसम्बन्धी विभिन्न महत्वपूर्ण प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नेछ।
यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ।
चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त हुने प्राविधिक तथ्याङ्क र अनुभव भविष्यका अन्तरिक्ष यानहरूको डिजाइन र विकासमा प्रयोग गरिने बताएका छन्। यसले अन्तरिक्ष अभियानको लागत घटाउन र दीर्घकालीन अन्तरिक्ष अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनले अन्तरिक्षको शान्तिपूर्ण प्रयोगलाई प्राथमिकतामा राख्दै यस्तो प्रविधिको विकास गरिरहेको जनाएको छ। यस मिशनमार्फत वैज्ञानिक अनुसन्धान, उपग्रह प्रक्षेपण तथा अन्य अन्तरिक्ष गतिविधिहरूलाई दीगो र किफायती बनाउने लक्ष्य लिइएको छ ।
लङ मार्च–२एफ रकेट चीनको भरपर्दो वहन रकेटमध्ये एक हो, जसलाई यसअघि पनि मानवयुक्त अन्तरिक्ष उडान तथा अन्य महत्वपूर्ण मिशनहरूमा सफलतापूर्वक प्रयोग गरिएको छ। पछिल्लो प्रक्षेपणले चीनको अन्तरिक्ष प्रक्षेपण क्षमता र प्रविधिगत दक्षतालाई थप पुष्टि गरेको छ। रासस/सिन्ह्वा
प्रकाशित: २७ माघ २०८२, मंगलवार