टेलिकमको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा शुरु, चीनबाट भन्दा भारतबाट कल गर्न सस्तो

Technology Khabar १५ बैशाख २०७६, आईतवार

टेलिकमको प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा शुरु, चीनबाट भन्दा भारतबाट कल गर्न सस्तो
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा वैशाख १६ गतेदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । शुरुवातमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमले जानकारी दिएको छ ।

अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् ।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने कम्पनीको भनाई छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क नलाग्ने बताईएको छ ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए ।

सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415# डायल गर्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १५ बैशाख २०७६, आईतवार

तपाइको प्रतिक्रिया