पहिलो टी१ नै बजारमा नआउँदै ‘टी१ अल्ट्रा’ तयारी गर्दै ट्रम्प मोबाइल

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
पहिलो टी१ नै बजारमा नआउँदै ‘टी१ अल्ट्रा’ तयारी गर्दै ट्रम्प मोबाइल

काठमाडौं ।

कम्पनीको पहिलो स्मार्टफोन टी१ अझै उपभोक्तासम्म नपुग्दै ट्रम्प मोबाइलले अझ शक्तिशाली ‘टी१ अल्ट्रा’ मोडेलको तयारी गरिरहेको बुझिएको छ।

धेरैले टी१ फोन अग्रिम बुकिङ गरिसकेका भए पनि अहिलेसम्म कसैले पनि उक्त फोन हातमा पाएको छैन।

तर कम्पनी त्यसमै सीमित छैन। ट्रम्प मोबाइलका एक वरिष्ठ कार्यकारीले अझ उन्नत मोडेल टी१ अल्ट्रा विकासाधीन रहेको बताएका छन्। वायरलेस डिलर म्यागजिनसँगको अन्तर्वार्तामा प्रमुख कार्यकारी अधिकृत डन हेन्ड्रिक्सनले टी१ अल्ट्रा लाई प्रिमियम उपकरणका रूपमा वर्णन गर्दै, यसले मूल टी१ को “सफलता” माथि निर्माण गर्ने दावी गरे।

टेलिग्राफका अनुसार “सफलता” भन्ने शब्द विडम्बनापूर्ण देखिन्छ किनकि टी१ फोन अहिलेसम्म प्रचार सामग्रीबाहेक कतै देखिएको छैन र यसको स्पष्ट सार्वजनिक मिति पनि तोकिएको छैन। हालसम्म सीमित संख्यामा मात्र प्रयोगकर्ताले १०० अमेरिकी डलर अग्रिम रकम बुझाएका छन्, तर फोन प्राप्त गरेका छैनन्।

हेन्ड्रिक्सनले टी१ अल्ट्रा प्रति ग्राहकहरू “अत्यन्त उत्साहित” रहेको पनि दाबी गरेका छन्। तर यो मोडेल अन्तर्वार्ताअघि कतै उल्लेख गरिएको थिएन र मूल टी१ फोन नै बजारबाट “हराएको जस्तो” अवस्थामै रहेको देखिन्छ।

‘अल्ट्रा’ नामकरण स्यामसङजस्ता ठूला उत्पादकहरूले आफ्ना सबैभन्दा शक्तिशाली मोडेलका लागि प्रयोग गर्दै आएको प्रवृत्तिअनुसार भएकाले ट्रम्प मोबाइलले पनि उस्तै ब्रान्डिङ रणनीति अपनाउन खोजेको देखिन्छ।

तर आधारभूत टी१ संस्करण नै अहिलेसम्म पठाउन नसकिएको अवस्थामा, अझ महँगो र उन्नत टी१ अल्ट्रा जस्तो मोडेलको योजना सार्वजनिक गर्नु समयभन्दा अगावैको कदम जस्तो देखिएको विश्लेषण गरिएको छ।

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार