आफ्नो ‘क्रेट’ केबल प्रणालीलाई १८० टेराबिट–प्रति–सेकेन्ड क्षमताको सबसी केबलमार्फत जोड्दै भोडाफोन

  • Technology Khabar | १६ माघ २०८२, शुक्रबार
आफ्नो ‘क्रेट’ केबल प्रणालीलाई १८० टेराबिट–प्रति–सेकेन्ड क्षमताको सबसी केबलमार्फत जोड्दै भोडाफोन
सांकेतिक तस्विर

काठमाडौं ।

ग्रीस अन्तर्राष्ट्रिय कनेक्टिभिटी हब बन्ने दिशामा अघि बढिरहेको छ। यसै क्रममा भोडाफोनले ३४० किलोमिटर लामो नयाँ सबसी केबल प्रणाली विस्तार गर्ने तयारी गरिरहेको छ।

थेटिस एक्सप्रेस नाम दिइएको उक्त केबलका लागि समुद्री सर्वेक्षण कार्य सुरु भइसकेको छ। ग्रिक मिथकका पात्र अकिलिजकी आमाको नामबाट राखिएको यो प्रणाली सम्पन्न भएपछि क्रेटको हेराक्लिओन र एथेन्सस्थित क्यारियर–न्युट्रल डाटा सेन्टरहरू आपसमा जोडिनेछन्।

टेलिकम्स डटकमका अनुसार यो केबल मार्ग पूर्ण रूपमा सरल छैन। यसमा एउटा एथेन्सबाट र अर्को क्रेटबाट सुरु हुनेगरी दुईवटा सबसी खण्ड छन् जुन क्रेट र ग्रिक प्रायद्वीपको बीचमा पर्ने मिलोस टापुमा भेटिन्छन्।

ती दुई छेउलाई मिलोस टापु पार गर्ने भू-सतही (टेरेस्ट्रियल) फाइबर खण्डले जोड्नेछ। केबलको अधिकतम क्षमता १८० टेराबिट–प्रति–सेकेन्ड (टीबीपीएस) रहने भोडाफोनले जनाएको छ, जुन एकै पटक ४के गुणस्तरका करिब २ करोड ५० लाख भिडियो स्ट्रिमिङ गर्न सकिने क्षमतासरह हो।

“विश्वभर इन्टरनेट ट्राफिक सहज र सुरक्षित रूपमा प्रवाह गराउन भोडाफोनले केन्द्रीय भूमिका खेल्दै आएको छ,” भोडाफोन बिजनेसका उत्पादन तथा अन्तर्राष्ट्रिय व्यापार निर्देशक फानान हेनरिक्वेसले भने।

“अब हामी नयाँ अप्टिकल फाइबर स्थलमार्गीय र सबसी केबलहरूको संयोजन प्रयोग गर्दै यो क्षमतालाई ग्रीसका थप क्षेत्रसम्म विस्तार गर्दैछौँ, र भविष्यमा अन्तरिक्ष–आधारित प्रत्यक्ष–टु–डिभाइस मोबाइल ब्रडब्यान्डजस्ता उदीयमान उपग्रह सेवाहरू पनि प्रयोगमा ल्याउनेछौँ।”

भूमध्यसागरमा अवस्थित भौगोलिक अवस्थाका कारण युरोप र अफ्रिकाबीच झन्डै समान दूरीमा पर्ने क्रेट नजिकैको दूरी हुँदै थुप्रै अन्तर्राष्ट्रिय सबसी केबल प्रणालीहरू गएका छन्।

तीमध्ये एउटा हो २अफ्रिका केबल जुन विश्वकै सबैभन्दा लामो सबसी केबल हो। यसले युरोपलाई अफ्रिकी महादेशको सम्पूर्ण तटरेखासँग जोड्छ र भविष्यमा भारतसम्म विस्तार हुने योजना छ।

भोडाफोन २अफ्रिकाका साझेदारमध्ये एक हो र क्रेटको दक्षिणी तटमा यसका लागि ल्यान्डिङ स्टेसन पहिले नै सञ्चालनमा छ। भोडाफोनका अनुसार २अफ्रिकालाई थेटिस एक्सप्रेससँग जोड्ने योजना पनि अघि बढिसकेको छ।

यसरी सञ्चालनमा आएपछि थेटिस एक्सप्रेसले ग्रीसबाट युरोपका अन्य भागहरू र दक्षिणपूर्वी एसियासम्म थोक (होलसेल) अन्तरजडान सेवाहरूको दायरा विस्तार गर्ने भोडाफोनको दावी छ। साथै केबल क्षति वा विद्युत् अवरोधको अवस्थामा वैकल्पिक मार्ग (रेडन्डेन्सी) पनि प्रदान गर्नेछ।

भोडाफोनको यो नयाँ परियोजनाले युरोपलाई सबसी केबल गतिविधिका दृष्टिले विश्वकै प्रमुख क्षेत्रमध्ये एकका रूपमा थप मजबुत बनाएको छ।

बीईआरईसीले टेलिजियोग्राफी र राष्ट्रिय नियामक निकायहरू (एनआरए) लाई उद्धृत गर्दै गत वर्ष प्रकाशितप्रतिवेदनअनुसार हाल युरोपमा ३२३ वटा सबसी केबल सञ्चालनमा छन्।

थप १३ वटा निर्माणाधीन अवस्थामा छन् भने करिब ३० वटा योजना चरणमा छन्। तीमध्ये सबैभन्दा बढी केबलहरू भूमध्यसागर क्षेत्रमा केन्द्रित छन्, त्यसपछि एटलान्टिक र बाल्टिक क्षेत्र पर्छन्।

सबमेरिन टेलिकम्स (सबटेल) फोरमले गत वर्ष सार्वजनिक गरेको अर्को प्रतिवेदनले ईएमईए क्षेत्रलाई विश्वकै सबैभन्दा सक्रिय सबसी केबल क्षेत्रका रूपमा चिनाएको छ। सन् २०२५ मा विश्वभर सञ्चालनमा आएका १९ नयाँ प्रणालीमध्ये आठ वटा यही क्षेत्रमा परेका थिए र पछिल्ला पाँच वर्षमध्ये चार वर्ष यो क्षेत्र शीर्ष स्थानमा रहँदै आएको छ।

हालै टीआईएमको सबसी शाखा स्पार्कल ले आफ्नो ब्लूमेड प्रणाली साइप्रससँग जोडेको छ भने भोडाफोनले ब्ल्याक सागरमा नयाँ केबल विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ। यी गतिविधिले सन् २०२६ मा पनि युरोप सबसी केबल परियोजनाहरूको केन्द्र बनेर रहने संकेत गर्ने टेलिकम्स डटकमको आकलन छ।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार