स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

  • Technology Khabar | १३ माघ २०८२, मंगलवार
स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास
फाइल तस्बिर

काठमाडौं ।

-नवराज ढकाल

विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास-कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ।

जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ डिग्री सेल्सियस र दुई डिग्री सेल्सियसको बीचमा सीमित राख्नका लागि हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका उपायहरुलाई थप प्रभावकारी बनाउनु जरुरी देखिन्छ।

विश्वव्यापी रुपमा खुद शून्य हरितगृह ग्यास उत्सर्जनको अवस्था हेर्दा सन् २०१९ को उत्सर्जन सन् २०१० को भन्दा १२ प्रतिशतले वृद्धि भएको पाइन्छ। हरितगृह ग्यास उत्सर्जनका सबै क्षेत्रबाट उत्सर्जन न्यूनीकरणलाई उच्च प्रभावकारिताका साथ अवलम्बन गरेर मात्र खुद शून्य कार्बन उत्सर्जन वा खुद शून्य हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणको लक्ष्य हासिल गर्न सकिन्छ।

तसर्थ, विश्व तापमान वृद्धिले खतराको सीमा पार गर्नु अगावै यसको उचित नियन्त्रण गर्न तत्काल हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणसम्बन्धी कार्यहरुलाई द्रुत्ततर एवं गम्भीर ढङ्गले अघि बढाउनु अपरिहार्य देखिन्छ।

ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरण वा ‘डिकार्बनाइजेसन’ भन्नाले ऊर्जाको उत्पादन, वितरण तथा उपभोगबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्दै अन्ततः पूर्ण रुपमा हटाउने प्रक्रियालाई बुझिन्छ।

ऊर्जा क्षेत्रमा डिकार्बनाइजेसनका मुख्यतया तीनवटा उपाय रहेका छन्ः इन्धन रुपान्तरण (फ्युल स्विचिङ), राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण र ऊर्जा दक्षता।

फ्युल स्विचिङ भनेको परम्परागत ऊर्जा र  खनिज इन्धनबाट सञ्चालित प्रविधिहरु (सवारी साधन, मेसिनरी, घरायसी उपकरण विशेषगरी खाना पकाउने प्रविधि) लाई स्वच्छ ऊर्जाबाट सञ्चालन गर्नु हो। फ्युल स्विचिङका प्रमुख क्षेत्रहरुमा घरायसी, यातायात, उद्योग र कृषि रहेका छन्।

राष्ट्रिय प्रसारण (ग्रिड) लाइनको सबलीकरण भनेको मौसमी सन्तुलन, आयात न्यूनीकरण, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतीय पूर्वाधारहरुको स्तरोन्नतिको माध्यमबाट ग्रिडलाई हरितगृह ग्यास उत्सर्जन मुक्त बनाउनु हो।

अर्थात् हामीले उपयोग गर्ने (स्वदेशमै उत्पादित विद्युत् वा आयात गरिएको) विद्युत् परम्परागत खनिज इन्धनमा आधारित नभई शून्य कार्बन स्रोत जस्तैः सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोतमा आधारित रहेको सुनिश्चितता गर्नु हो। ऊर्जा दक्षता भनेको ऊर्जा दक्ष उपकरण, ग्रिड र औद्योगिक मेसिनरीको उपयोगबाट कुनै वस्तु वा सेवाको उत्पादनमा लाग्ने ऊर्जाको परिमाणलाई कम गर्नु हो।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकासका लागि स्वच्छ खाना पकाउने ऊर्जा, वितरित नवीकरणीय ऊर्जा, विद्युतीय सवारी (ई–मोबिलिटी), आधुनिक र कृषि क्षेत्रमा ऊर्जा दक्षतालगायत क्रियाकलापमा लगानीका सम्भावनाहरु रहेका छन्।

अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतीहरु एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न तथा स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै लैजानुपर्ने देखिन्छ। नेपालले राष्ट्रिय लक्ष्य तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरुमा डिकार्बनाइजेसनलाई प्राथमिकतामा राखेको छ।

तेस्रो राष्ट्रिय निर्धारित योगदान, दिगो विकास लक्ष्य, खुद शून्य उत्सर्जनसम्बन्धी नेपालको दीर्घकालीन रणनीति, सोह्रौँ योजना, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ लगायत दस्तावेजहरुमा डिकार्बनाइजेसनसम्बन्धी लक्ष्यहरु समेटिएका छन्।

स्वच्छ ऊर्जा दिवसको आयोजना

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२३ मा घोषणा गरी २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रुपमा मनाउँदै आएको छ।

यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ। नेपालमा यो दिवस मनाउने कार्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ। केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने तथा ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ।

यसका साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रुपमा समेत कार्य गर्दै आएको छ।

यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन’ आयोजना गरेको छ।

स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तनसम्बन्धी लक्ष्यमा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रम गत वर्ष आयोजना गरिएको ‘उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन’ को निरन्तरता पनि हो।

तथापि यस वर्षको सम्मेलनले न्यून कार्बनीकरणको व्यावहारिक पक्षमा जोड दिँदै बहसलाई व्यवहारमा रुपान्तरण गर्ने उद्देश्य लिएको छ। सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय सरकारी-गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक-प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र, सञ्चारजगत्, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तीव्रता दिनका लागि रणनीतिक दृष्टिकोणसम्बन्धी छलफल÷अन्तरक्रिया गर्ने अवसर जुटाउनेछ।

स्वच्छ ऊर्जा प्रवर्द्धनमा केन्द्रको पहल

स्वच्छ ऊर्जाको माध्यमबाट नेपालको न्यून कार्बन विकास, सामाजिक आर्थिक समुन्नति र हरित अर्थतन्त्र विकासमा केन्द्रको महत्वपूर्ण योगदान रहँदै आएको छ। केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हासिल गरेका उपलब्धिहरुले न्यून कार्बनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको छ।

सरकारले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणका कार्यहरुलाई अघि बढाउन बलियो कानुनी आधार खडा गर्ने उद्देश्यका साथ नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाएको छ।

यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ऐनको रुप दिने कार्यलाई निर्वाचित संसदले पारित गर्ने विश्वास गरिएको छ।

केन्द्रले हालसम्म लघु तथा साना जलविद्युत्, सुधारिएको पानीघट्ट, सौर्य÷सौर्य–वायु मिनिग्रिड, घरेलु सौर्य विद्युत् प्रणाली, संस्थागत सौर्य विद्युत् प्रणाली, सौर्य सडक बत्ती, मठमन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा प्रणाली, घरायसी बायोग्यास, संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, सुधारिएको चुलो, विद्युतीय चुलोलगायत परिविधि विस्तारबाट समग्रमा देशको करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्याएको छ।

कुल विद्युत् पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब छ प्रतिशत रहेको छ। विद्युत् पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको छ। नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ।

साथै, केन्द्रले सन् २००५ देखि नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन व्यापारसम्बन्धी कार्यको थालनी गरेको हो। केन्द्रले स्वच्छ विकास संयन्त्रअन्तर्गत आठवटा आयोजनाबाट हालसम्म कुल ६६ लाख ८० हजार मेट्रिकटन युनिट प्रमाणित कार्बन उत्सर्जन न्यूनीकरण उत्पादन गरी कार्बन व्यापारमार्फत करिब ३६.०११ मिलियन अमेरिकी डलर आम्दानी गरेको छभने यी कार्बन परियोजनाको सञ्चालनबाट भविष्यमा थप आम्दानी हुने सुनिश्चित गरेको छ।

नेपालको संविधानले लिएको समावेशी आर्थिक सामाजिक विकासको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको विस्तार र ऊर्जा दक्षताको बाटो अवलम्बन गरी स्वच्छ ऊर्जा रुपान्तरणको बाटो अपनाउनु अपरिहार्य रहेको छ। यसका लागि प्रभावकारी र परिणाममुखी सहकार्य जरुरी देखिन्छ।

प्रकाशित: १३ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...