
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र भारतीय रिजर्व बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच २०८२ माघ ५ गते भेटवार्ता भएको छ।
मुम्बईस्थित आरबीआईको मुख्यालयमा सम्पन्न भेटवार्तामा नेपाल र भारतबीच हुने अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुईपक्षीय हितका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ। भेटका अवसरमा नेपाली नागरिकले भारत भ्रमणका क्रममा क्यूआर कोडमार्फत हुने भुक्तानीलाई सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो।
यसै गरी, मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्समा आधारित सुपरिवेक्षण, सूचना प्रविधिको क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यास बारे छलफल भएको थियो ।
साथै, वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलासँगै दुईपक्षीय सहयोग आदानप्रदानका विषयमा समेत छलफल भएको थियो।
नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए।
भारत भ्रमणका दौरान गभर्नर पौडेलले माघ ६ गते गुजरात, अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए।
प्रकाशित: १३ माघ २०८२, मंगलवार