युवामाझ लत लाग्ने आरोपमा मेटा, टिकटक र युट्युब अदालतमा उभिने

  • Technology Khabar | १३ माघ २०८२, मंगलवार
युवामाझ लत लाग्ने आरोपमा मेटा, टिकटक र युट्युब अदालतमा उभिने

काठमाडौं ।

मेटा प्लेटफर्म्स, टिकटक र युट्युबले यस साता युवाहरूमा मानसिक स्वास्थ्य संकट बढाउन आफ्नो प्लेटफर्मले भूमिका खेलेको आरोपबारे अदालतमा सामना गर्नुपर्ने भएको छ। बालबालिकाको स्क्रिन टाइमसम्बन्धी राष्ट्रिय बहस नयाँ चरणमा प्रवेश गरिरहेका बेला यो मुद्दा अगाडि बढ्न लागेको हो।

लस एन्जलस काउन्टीस्थित क्यालिफोर्निया सुपेरियर कोर्टमा हुने यो ‘बेलवेदर’ मुद्दामा अदालतका कागजातमा के.जी.एम भनेर चिनाइएकी क्यालिफोर्नियाकी १९ वर्षीया युवती मुख्य वादी रहेको रोयटर्सले उल्लेख गरेको छ।

उनका अनुसार बाल्यकालमै कम्पनीहरूका प्लेटफर्मको ध्यान तान्ने डिजाइनका कारण उनी तिनमा लिप्त भइन्। उनले ती एपहरूले आफ्नो डिप्रेसन र आत्महत्यासम्बन्धी विचारलाई बढावा दिएको दावी गर्दै कम्पनीहरूलाई जिम्मेवार ठहर गर्न माग गरेकी छन्।

यो मुद्दा बालबालिकामाझ “सामाजिक सञ्जालको लत” रहेको भन्ने वादीहरूको दावीमा आधारित, यस वर्ष अदालत पुग्ने अपेक्षा गरिएका थुप्रै मुद्दामध्ये पहिलो हो।

वादी पक्षका वकिल म्याथ्यु बर्गम्यानका अनुसार कथित रूपमा आफ्ना उत्पादनले पुर्‍याएको हानिका लागि प्रविधि दिग्गजहरूले अदालतमा आफूलाई जोगाउनुपर्ने यो पहिलो अवसर हो। “कङ्ग्रेसअघि साक्षी दिँदा नहुने स्तरको छानबिन अब उनीहरूले सामना गर्नुपर्नेछ,” उनले रोयटर्सलाई भने।

जूरीले के.जी.एमको मानसिक स्वास्थ्यमा हानि पुर्‍याउने उत्पादन उपलब्ध गराउँदा कम्पनीहरू लापरवाह भए वा भएनन् भन्ने निर्णय गर्नेछ। साथै, एपहरूको प्रयोग उनको डिप्रेसनको प्रमुख कारण थियो कि थिएन—वा एपमा देखिएको तेस्रो पक्षको सामग्री वा अफलाइन जीवनका अन्य पक्षहरूजस्ता कारणहरूसँग तुलना गर्दा यसको भूमिका कति थियो—भन्ने पनि जूरीले टुंग्याउनेछ।

“यो साँच्चिकै एउटा परीक्षण मुद्दा हो,” प्रो–व्यवसायिक थिङ्क ट्याङ्क अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका मिडिया कानुन विज्ञ क्ले क्याल्भर्टले भने। “सामाजिक सञ्जाल प्लेटफर्महरूले वादीलाई हानि पुर्‍याए भन्ने यी सिद्धान्तहरूमा अब के हुन्छ भन्ने हामी देख्नेछौँ।”

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग साक्षीका रूपमा अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ। मेटाका वकिलहरूले सुनुवाइअघि रोयटर्सलाई बताएअनुसार, कम्पनीले आफ्ना उत्पादनहरूले के.जी.एमका मानसिक स्वास्थ्य समस्याहरू निम्त्याएको होइन भन्ने तर्क अदालतमा प्रस्तुत गर्नेछ।

स्न्यापका प्रमुख कार्यकारी अधिकृत इभान स्पिगेलले पनि साक्षी दिने अपेक्षा गरिएको थियो, किनभने उनको कम्पनी पनि प्रतिवादीका रूपमा मुद्दामा जोडिएको थियो। तर स्न्यापले जनवरी २० मा के.जी.एमको मुद्दा मिलापत्रमार्फत टुंग्याउन सहमति जनाएको छ। कम्पनीका प्रवक्ताले सम्झौताका विवरणबारे टिप्पणी गर्न अस्वीकार गरे।

युट्युबले आफ्नो प्लेटफर्म इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूभन्दा आधारभूत रूपमा फरक भएको र अदालतमा सबैलाई एउटै समूहमा राख्न नहुने तर्क प्रस्तुत गर्ने जनाएको सुनुवाइअघि एक युट्युब कार्यकारीले बताए। टिकटकले भने अदालतमा प्रस्तुत गरिने आफ्ना तर्कबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रकाशित: १३ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार