चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भाग सकियो: उठाउन थालियो क्यामरा

  • Technology Khabar | १२ माघ २०८२, सोमबार
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भाग सकियो: उठाउन थालियो क्यामरा
च्याटजीपीटीमार्फत् निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चितवन  र पर्सा राष्ट्रिय निकुञ्जमा  गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको  दोस्रो भागको काम सकिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ। यसभित्र तीन भाग बनाइएको थियो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामरा निकाल्ने काम सुरु गरिएको छ। उनले भने, “आज देखि क्यामरा उठाउने काम सुरु भएको छ। दुई देखि तीन दिनमा क्यामरा उठाउने काम सकिने छ।” उनका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन्।

दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताए। यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामरा जडान गरेर गणना गरिएको थियो। ती क्यामरा निकाल्न थालिएको हो।

सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो।  एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखेर बाघ गाणना गरिएको हो।

मगरका अनुसार एउटा भागमा दुई साता क्यामरा राखेर बाघ गणना गरिने छ। तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामरा रखिने छ। दोस्रो भागमा राखिएका क्यामरा उठाएर ती क्षेत्रमा राखिने उनले जानकारी दिए।

चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ। यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो। यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो। हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ। निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन्। ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन्।

गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिए। “ग्रिडबाट क्यामरा निकालेपछि अध्ययन थालिने छ। बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामरा राखिने छ। ती क्यामराले बाघको फोटो खिच्ने गर्दछ”, उनले भने।

बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताए। उनका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए।-रासस

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार