
काठमाडौं ।
नेटवर्क उपकरण निर्माता नोकिया र ठूलो स्तरको एआई तथा उच्च–प्रदर्शन कम्प्युटिङ (एचबीसी) पूर्वाधारमा विशेषज्ञ कम्पनी हाइपरटेकले क्यानडाको युनिभर्सिटी अफ वाटरलूमा उन्नत सुपरकम्प्युटिङ क्लस्टर तैनाथ गरेका छन्।
निबी नाम दिइएको यो नयाँ प्रणालीले वार्षिक ४ हजारभन्दा बढी अनुसन्धानकर्तालाई सहयोग गर्ने बताइएको छ। यसले क्यानडामा स्वास्थ्य, जलवायु विज्ञान, इन्जिनियरिङ र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको अनुसन्धानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
निबी उत्तर अमेरिकामा नोकियाले यस श्रेणीको एआई–एचपीसी डाटा सेन्टर नेटवर्किङ तैनाथ गरेको पहिलो परियोजना भएको जनाइएको छ।
हाइपरटेकले प्रणाली आर्किटेक्ट र प्रमुख इण्टिग्रेटरको भूमिका निर्वाह गरेको छ। विज्ञप्तिमा यो परियोजनाले “घरेलु विज्ञतामा आधारित, विश्वस्तरमा प्रतिस्पर्धी स्वदेशी एआई अनुसन्धान पूर्वाधार डिजाइन, तैनाथ र सञ्चालन गर्ने क्यानडाको बढ्दो क्षमतालाई प्रतिबिम्बित गर्छ” भनिएको छ।
यो नयाँ पूर्वाधार शार्कनेट (शेयर्ड हाइरार्किकल एकेडेमिक रिसर्च नेटवर्क) नामक उच्च–प्रदर्शन कम्प्युटिङ वातावरणमा समावेश गरिनेछ। शार्कनेट मार्फत क्यानडाका शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, विद्यार्थी, पोस्टडक तथा अनुसन्धान फेलोहरूले अनुसन्धानका लागि आवश्यक कम्प्युटिङ शक्ति प्राप्त गर्न सक्छन्।
टेकक्रञ्चका अनुसार शार्कनेटमा १९ वटा शैक्षिक साझेदार संस्था आबद्ध छन्, जसले यसलाई संस्थाको सङ्ख्याका आधारमा क्यानडाकै सबैभन्दा ठूलो एचपीसी कन्सोर्टियम बनाएको बताइएको छ।
नोकिया क्यानडाका अध्यक्ष जेफ म्याडक्सले भने, “यो परियोजनाले एआई युगमा कम्प्युटर विज्ञान र नवप्रवर्तनमा क्यानडाको विश्व नेतृत्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्नेछ। नोकिया क्यानडाका लागि यो अत्यन्तै महत्वपूर्ण दिन हो, र हामी हाइपरटेक समूह, शार्कनेट र युनिभर्सिटी अफ वाटरलूसँग थप रोमाञ्चक संयुक्त परियोजनाहरूको प्रतीक्षा गरिरहेका छौँ।”
युनिभर्सिटी अफ वाटरलूकी उप–कुलपति (अनुसन्धान) तथा तथ्याङ्क र एक्चुअरियल साइन्स विभागकी प्राध्यापक चार्मेन डिनले भनिन्, “निबी सुपरकम्प्युटरले उन्नत कम्प्युटेशनल अनुसन्धानलाई सहयोग गर्ने वाटरलूको क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गरेको छ। नोकिया र हाइपरटेकसँगको सहकार्यले हामीलाई स्केलेबल प्रणाली डिजाइन र उच्च–प्रदर्शन इथरनेट नेटवर्किङ संयोजन गरिएको विश्वस्तरीय एआई तथा एचपीसी पूर्वाधारमा पहुँच मिलेको छ, जसले क्यानडाली अनुसन्धानको अर्को पुस्तालाई अघि बढाउनेछ र कम्प्युटेशनमा वाटरलूको दीर्घकालीन नेतृत्वलाई थप मजबुत बनाउनेछ।”
यसैबीच, नोकियाले हालै ओटावाको कानाटा नर्थ टेक पार्कमा करिब ७ लाख ५० हजार वर्गफुट क्षेत्रफलको नयाँ क्याम्पस स्थापना गर्दै क्यानडामा आफ्नो उपस्थिति विस्तार गरेको छ। उक्त क्याम्पसले एआई–सञ्चालित नेटवर्क, डाटा सेन्टर नेटवर्क, क्वान्टम–सुरक्षित पूर्वाधार र ६जी प्रविधिमा प्रगति तीव्र बनाउने लक्ष्य राखेको छ।
प्रकाशित: ११ माघ २०८२, आईतवार