चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन शुरु

  • Technology Khabar | ९ माघ २०८२, शुक्रबार
चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन शुरु

काठमाडौं ।

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा आजबाट चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन शुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, जर्मन सहयोग नियोगको सहभागिता रहने र भोलि शनिबारसम्म चल्ने यस सम्मेलनमा वि.पी नेत्र प्रतिष्ठान, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क तथा डिजिटल हेल्थ फाउण्डेसन यस सम्मेलन सहआयोजक रहेका छन्। यस सम्मेलनको आयोजनामा करिब २० भन्दा बढी संस्थाहरु सँग सहकार्य भएको आयोजकले जनाएको छ।

यस राष्ट्रिय सम्मेलनमा स्वास्थ्य तथा सूचना प्रविधिसम्बन्धी नीति निर्माणकर्ता, स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सेवा प्रदायक संस्था, इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रदायक, सूचना प्रविधि सम्बन्धी व्यक्तिहरु, स्वास्थ्य र प्रविधि सम्बन्धी शैक्षिक संस्थाहरू, विकास साझेदारहरू, नवप्रवर्तनकर्ता तथा टेलिमेडिसिन र डिजिटल स्वास्थ्य कार्यान्वयन गरिरहेका निकायहरु, निजी क्षेत्र तथा टेलिमेडिसिन र डिजिटल स्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरू गरि ६० संस्थाका करिव १ सय ८० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार दुई दिन सम्म चल्ने सम्मेलनमा १२ वटा सेसनहरु रहने र ६ जना टेलिमेडिसिन र डिजिटल स्वास्थ्यमा कार्यरत विज्ञ व्यक्तिहरुको सेसन कीनोट रहने छ। साथै ४५ भन्दा बढी प्रस्तुतीकरण र २ वटा प्यानल छलफलको कार्यक्रम रहेको छ।

यस्तै इलेक्ट्रोनिक मेडिकल रेकर्डको प्रयोग सम्वन्धमा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न प्रयोगात्मक कार्यशालाको आयोजना सहित नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको सहयोगमा जेनेरेटिभ एआईको प्रयोग सम्बन्धमा सचेतनाको कार्यशाला समेत राखिएको छ।

यस्तै सम्मेलनकै महत्वपूर्ण क्रियाकलापको रुपमा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन लाई प्रवर्धन गर्ने सोचका साथ युवा पुस्तालाई नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जिम्मेवार बनाउन डिजिटल स्वास्थ्यसम्बन्धी ह्याकाथनको समेत आयोजना गरिएको छ।

रविभवन स्थीत होटेल क्राउन इम्पेरियलमा आयोजना हुन लागेको यस दुई दिने सम्मेलनले १ सय ८० भन्दा बढी व्यक्तिहरुको सकृय सहभागितामा नेपालको
टेलिमेडिसिन तथा डिजिटल स्वास्थ्यको क्षेत्रको विकासका लागि मार्गनिर्देशन गर्ने र काठमाडौं घोषणा पत्र तयार गरि टेलिमेडिसिन तथा डिजिटल स्वास्थ्य सँग सम्बन्धित सरोकारवाला निकायहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो सम्मेलनको परिणामले समग्र स्वास्थ्य क्षेत्रको डिजिटलाइजेसनको प्रकृयामा सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

प्रकाशित: ९ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...