
काठमाडौं ।
निर्धारित सुनुवाइ हुन केही दिन बाँकी रहँदै सामाजिक सञ्जाल कम्पनी स्न्यापले सामाजिक सञ्जालले लत लगाउने र मानसिक स्वास्थ्यमा असर पुर्याएको आरोपसहित दायर गरिएको मुद्दामा सम्झौता गरेको छ।
यो सम्झौता क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित सुपीरियर अदालतमा मंगलबार सार्वजनिक गरिएको न्यूयोर्क टाइम्स लगायतका माध्यमहरूले जनाएका छन्।
अदालतका कागजातअनुसार १९ वर्षीय एक युवाले (कागजातमा के.जी.एम. का रूपमा उल्लेख) स्न्यापले प्रयोगकर्ता तानिराख्ने एल्गोरिदम र फिचरहरू डिजाइन गरेर लत र मानसिक स्वास्थ्य समस्या सिर्जना गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए। सम्झौताका सर्तहरू भने सार्वजनिक गरिएको छैन।
उक्त मुद्दामा मेटा, यूट्युब र टिकटक जस्ता अन्य प्लेटफर्महरू पनि प्रतिवादीका रूपमा नामित छन्। तर ती कम्पनीहरूसँग अहिलेसम्म कुनै सम्झौता भएको छैन। स्न्यापविरुद्ध यस्तै प्रकृतिका अन्य सामाजिक सञ्जाल लतसम्बन्धी मुद्दाहरू भने अझै जारी छन्।
टेकक्रञ्चका अनुसार चलिरहेका मुद्दामा सार्वजनिक भएका कागजातहरूका अनुसार, स्न्यापका कर्मचारीहरूले कम्तीमा नौ वर्षअघिदेखि किशोरहरूको मानसिक स्वास्थ्यमा पर्ने जोखिमबारे आन्तरिक रूपमा चिन्ता व्यक्त गर्दै आएका थिए। कम्पनीले भने ती उदाहरणहरू “छानेर निकालिएका” र सन्दर्भबाहिर प्रस्तुत गरिएको दावी गरेको छ।
वादी पक्षले यी मुद्दाहरूलाई सन् १९९० को दशकमा सुर्तीजन्य कम्पनीहरूविरुद्ध दायर गरिएका ‘बिग टोब्याक्को’ मुद्दासँग तुलना गर्दै आएका छन्। उनीहरूको आरोप छ— प्लेटफर्महरूले प्रयोगकर्तालाई निरन्तर प्रयोग गराइराख्ने उद्देश्यले अनन्त स्क्रोल, अटो भिडियो प्ले र एल्गोरिदमिक सिफारिस जस्ता फिचर प्रयोग गरी सम्भावित हानिबारेको जानकारी लुकाएका छन्, जसका कारण डिप्रेसन, खानपानसम्बन्धी विकार र आत्महानीजस्ता समस्या बढेका छन्।
यस मुद्दामा स्न्यापका सीईओ एभान स्पिगल साक्षी दिन तय भएका थिए। यो सुनुवाइ अघि बढेको भए, सामाजिक सञ्जाल कम्पनीले लतसम्बन्धी मुद्दामा पहिलोपटक जूरी सामना गर्ने अवस्था बन्ने थियो। अहिलेसम्म कुनै पनि प्लेटफर्मले यस्ता मुद्दा जूरी ट्रायलमा हारेको उदाहरण छैन।
मेटा, यूट्युब र टिकटकविरुद्ध बाँकी रहेको मुद्दामा जूरी चयन आगामी सोमबार, जनवरी २७ देखि सुरु हुने बताइएको छ जहाँ मेटाका सीईओ मार्क जुकरबर्ग साक्षीका रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ।
यदि वादी पक्षले मुद्दा जितेमा, कानुनी विज्ञहरूका अनुसार बहु-अर्ब डलरको क्षतिपूर्ति र प्लेटफर्महरूलाई आफ्ना उत्पादन डिजाइन पुनःसंरचना गर्न बाध्य पार्ने नतिजा आउन सक्छ। तर कम्पनीहरूले आफूहरूलाई बचाउन एल्गोरिदमिक सिफारिस, पुश नोटिफिकेसन र अनन्त स्क्रोल जस्ता डिजाइन विकल्पहरू समाचारपत्रले कुन समाचार छाप्ने निर्णय गरेजस्तै अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत संरक्षित रहेको तर्क गर्दै आएका छन्।
प्रकाशित: ८ माघ २०८२, बिहीबार