नागढुंगाबाट २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद

  • Technology Khabar | ७ माघ २०८२, बुधबार
नागढुंगाबाट २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद

काठमाडौं ।

नागढुंगाबाट प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका मोबाइल बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले २४ लाख ५० हजार रुपैयाँ बराबरका ५० थान मोबाइल बरामद गरेको हो।

रुपन्देहीको छपियाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ७०१५ नम्बरको यात्रुवाहक बसबाट उक्त मोबाइल बरामद गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले मंगलबार बिहान पौने ८ बजे चेकजाँच गर्ने क्रममा बसको सामान राख्ने डिक्कीमा लुकाई छिपाई ल्याएको अवस्थामा बिल विजक नभएका मोबाइल फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले जानकारी दिए।

प्रहरीले बरामद गरेका मोबाइलहरूमा सबैभन्दा धेरै वान प्लसका ३९ थान रहेका छन्। यस्तै आइक्यू कम्पनीका ४ थान, नथिङ कम्पनीका ५ थान, भिभो र जी कम्पनीका एक–एक थान मोबाइल फेला परेको छ।

प्रहरीले बरामद गरेका ती मोबाइल आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाएको जनाएको छ।

प्रकाशित: ७ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...