
काठमाडौं ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिने भएका छन्। उनले आज अपरान्हमा मनोनयन दर्ता गराउने तयारीमा छन्।
सोमबार उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
पूर्वसञ्चारमन्त्री खरेल दुई दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। मन्त्री बन्नुअघि उनले इमेज टेलिभिजनको सम्पादकीय नेतृत्व सम्हालेका थिए।
खरेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले आजै पार्टी आबद्धताको प्रतीक चिह्न प्रदान गरेका छन्। उनले अपराह्न ३ बजे ललितपुर निर्वाचन क्षेत्र नं २ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ।
निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खरेलसहितले मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन्।
प्रकाशित: ६ माघ २०८२, मंगलवार