च्याटजीपीटीमा विज्ञापन परीक्षण गर्ने ओपनएआईको तयारी

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
च्याटजीपीटीमा विज्ञापन परीक्षण गर्ने ओपनएआईको तयारी
फाइल तस्बिर

काठमाडौं ।

ओपनएआईले आम्दानी बढाउने उद्देश्यले च्याटजीपीटीमा विज्ञापन देखाउन सुरु गर्ने जनाएको छ। एआई च्याटबट विकासका उच्च लागत धान्न आवश्यक स्रोत जुटाउन यो कदम चालिएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार आगामी केही हप्ताभित्र अमेरिकाका केही प्रयोगकर्तालाई लक्षित गर्दै विज्ञापन परीक्षण गरिनेछ। यो सुविधा च्याटजीपीटीको निःशुल्क टियर र हाल विश्वव्यापी रूपमा विस्तार हुँदै गएको कम मूल्यको गो योजना मा लागू हुनेछ। विज्ञापनहरू च्याटजीपीटीले सिर्जना गर्ने उत्तरबाट छुट्टै रूपमा देखाइने ओपनएआई ले स्पष्ट पारेको छ।

उच्च मूल्यका प्लस, प्रो, बिजनेस र इन्टरप्राइज योजनाका प्रयोगकर्तालाई भने विज्ञापन देखाइने छैन। साथै, विज्ञापनले च्याटजीपीटीका उत्तरमा कुनै प्रभाव नपार्ने र प्रयोगकर्ताका संवादहरू विज्ञापनदातासँग साझा नगरिने पनि कम्पनीको भनाइ छ।

यस कदमले अहिलेसम्म सदस्यता शुल्कमा निर्भर रहेको ओपनएआई को रणनीतिमा ठूलो परिवर्तन संकेत गर्छ। डेटा सेन्टरमा ठूलो लगानी गरिरहेको र बहुप्रतीक्षित आईपीओतर्फ तयारी गरिरहेको कम्पनीमाथि आम्दानी बढाउने दबाब बढिरहेको देखिन्छ।

हाल घाटामा रहेको यो स्टार्टअपले सन् २०३० सम्म कृत्रिम बुद्धिमत्ता पूर्वाधारमा १ ट्रिलियन अमेरिकी डलरभन्दा बढी खर्च गर्ने योजना बनाएको छ, तर त्यसको वित्तीय स्रोतबारे विस्तृत विवरण दिएको छैन।

विश्लेषकहरूका अनुसार च्याटजीपीटीका करिब ८०० मिलियन साप्ताहिक सक्रिय प्रयोगकर्ता बाट विज्ञापनमार्फत ठूलो आम्दानी सम्भव छ। तर विज्ञापनको अनुभव असहज वा अवसरवादी देखिएमा प्रयोगकर्ताको विश्वासमा असर पर्न सक्ने र उनीहरू गुगलको जेमिनी वा एन्थ्रोपिकको क्लाउडजस्ता प्रतिस्पर्धी च्याटबटतर्फ सर्न सक्ने जोखिम पनि रहेको उनीहरूको भनाइ छ।

ईमार्केटरका विश्लेषक जेरेमी गोल्डम्यानका अनुसार विज्ञापन “असहज” लागे प्रयोगकर्ताले सजिलै विकल्प रोज्न सक्छन्। तर उनले यो कदमले प्रतिस्पर्धीहरूलाई पनि “आफ्नो आम्दानी मोडेलबारे स्पष्ट पार्न दबाब” पर्ने बताए, विशेषगरी आफूलाई ‘विज्ञापनरहित’ भनेर प्रस्तुत गर्ने कम्पनीहरूलाई।

ओपनएआईले १८ वर्ष मुनिका प्रयोगकर्तालाई विज्ञापन नदेखाइने र स्वास्थ्य तथा राजनीति जस्ता संवेदनशील विषयसँग सम्बन्धित विज्ञापनहरू पनि रोक्ने जनाएको छ। “तपाईंको हालको संवादसँग सम्बन्धित प्रायोजित उत्पादन वा सेवाहरू हुँदा च्याटजीपीटीका उत्तरको तलतिर विज्ञापन परीक्षण गर्ने योजना छ,” कम्पनीले वक्तव्यमार्फत जनाएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार