मस्कद्वारा ओपनएआई र माइक्रोसफ्टसँग १ खर्ब ३४ अर्ब डलरसम्म क्षतिपूर्ति माग्दै मुद्दा दायर

  • Technology Khabar | ४ माघ २०८२, आईतवार
मस्कद्वारा ओपनएआई र माइक्रोसफ्टसँग १ खर्ब ३४ अर्ब डलरसम्म क्षतिपूर्ति माग्दै मुद्दा दायर
फाइल तस्बिर

काठमाडौं ।

इलन मस्कले ओपनएआई र माइक्रोसफ्टविरुद्ध संघीय अदालतमा दायर गरेको निवेदनमा आफूले प्रारम्भिक चरणमा दिएको समर्थनका कारण दुवै कम्पनीले प्राप्त गरेको “गलत रूपमा आर्जित लाभ” आफूले पाउनुपर्ने दाबी गर्दै १३४ अर्ब डलरसम्म क्षतिपूर्ति माग गरेका छन्।

अदालतमा दायर कागजातअनुसार, २०१५ मा स्टार्टअपका रूपमा स्थापना हुँदा सह–संस्थापक रहेका मस्कको योगदानका कारण OpenAI ले ६५.५ अर्ब डलरदेखि १०९.४ अर्ब डलरसम्म लाभ उठाएको र माइक्रोसफ्टले १३.३ अर्बदेखि २५.१ अर्ब डलरसम्म फाइदा पाएको मस्कको दाबी छ।

“इलन मस्क बिना ओपनएआई नै हुने थिएन। उनले प्रारम्भिक लगानीको ठूलो हिस्सा दिएका थिए, आफ्नो प्रतिष्ठा जोडिदिए र व्यवसाय विस्तार कसरी गर्ने भन्ने ज्ञान प्रदान गरे। एक अग्रणी विज्ञले त्यसको मूल्यांकन गरेका छन्,” मस्कका प्रमुख मुद्दा वकिल स्टिभन मोलोले वक्तव्यमा भनेका छन्।

रोयटर्सका अनुसार ओपनएआईले भने मस्कको मागलाई “गम्भीर नहुने” भन्दै यसलाई आफूविरुद्धको “हैरासानी अभियान” को हिस्सा भएको प्रतिक्रिया दिएको छ। माइक्रोसफ्टले भने क्षतिपूर्ति मागबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

ओपनएआई र माइक्रोसफ्टको जवाफी मुद्दा

यसै साता ओपनएआईले मस्कको मुद्दालाई “आधारहीन” भन्दै खारेज गर्नुपर्ने बताएको थियो। माइक्रोसफ्टका एक वकिलले पनि कम्पनीले ओपनएआई लाई “सहयोग वा उक्साहट” दिएको कुनै प्रमाण नभएको दाबी गरेका छन्।

शुक्रबार दायर गरिएको छुट्टै निवेदनमा ओपनएआई र माइक्रोसफ्टले मस्कले मागेको क्षतिपूर्तिको आधारलाई चुनौती दिएका छन्।

२०१८ मा ओपनएआई छाडेका मस्क हाल प्रतिस्पर्धी च्याटबोट ग्रोक विकास गर्ने एक्सएआई कम्पनी चलाइरहेका छन्। च्याटजीपीटी सञ्चालन गर्ने ओपनएआईले गैरनाफामूलक संस्थाका रूपमा स्थापना हुँदाको मूल उद्देश्य उल्लङ्घन गर्दै नाफामूलक संरचनामा पुनःसंरचना गरेको मस्कको आरोप छ।

क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतका न्यायाधीशले यस महिना निर्णायकमण्डलले मुद्दा सुन्ने निर्णय गरेका छन् जसको सुनुवाइ अप्रिलमा सुरु हुने अपेक्षा गरिएको छ।

अदालतमा दायर कागजातअनुसार मस्कले करिब ३८ मिलियन डलर योगदान दिएका थिए जुन ओपनएआईको प्रारम्भिक लगानीको करिब ६० प्रतिशत हो। उनले कर्मचारी भर्ना गर्न सहयोग गरेको, संस्थापकहरूलाई आफ्ना सम्पर्कहरूसँग जोडेको र परियोजनालाई विश्वसनीयता दिएको पनि उल्लेख गरिएको छ।

“स्टार्टअपमा प्रारम्भिक लगानीकर्ताले आफ्नो लगानीभन्दा धेरै गुणा बढी लाभ कमाउन सक्ने जस्तै ओपनएआई र माइक्रोसफ्टले कमाएको गलत लाभ पनि मस्कको प्रारम्भिक योगदानभन्दा धेरै ठूलो छ, र त्यो लाभ अब मस्कलाई फिर्ता दिनुपर्छ,” निवेदनमा उल्लेख गरिएको छ।

मस्कको योगदानको मूल्यांकन उनका विज्ञ साक्षी, वित्तीय अर्थशास्त्री सी. पॉल वाजानले गरेको बताइएको छ। ज्यूरीले दुवै कम्पनी दोषी ठहर गरेमा मस्कले दण्डात्मक क्षतिपूर्ति र सम्भावित निषेधाज्ञा समेत माग गर्न सक्ने कागजातमा उल्लेख छ।

ओपनएआई र माइक्रोसफ्टले भने मस्कका विज्ञको विश्लेषण “मनगणन्ते, प्रमाणित गर्न नसकिने र अभूतपूर्व” भएको दावी गर्दै निर्णायकमण्डल समक्ष प्रस्तुत गर्न नदिन अदालतसँग आग्रह गरेका छन्। उनीहरूले अर्बौं डलर गैरनाफामूलक संस्थाबाट पूर्व दाता तथा हाल प्रतिस्पर्धी बनेका व्यक्तिलाई सार्ने प्रयास “अविश्वसनीय” भएको तर्क गरेका छन्।

प्रकाशित: ४ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार