चीन–अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २ माघ २०८२, शुक्रबार
चीन–अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ स्याटेलाइट प्रक्षेपण
तस्बिर: सिन्ह्वा

काठमाडौं ।

चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू–संवेदन स्याटेलाइट’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

अल्जेरियाको भू–संवेदन उपग्रह भनेको अल्जेरिया देशले भूमि, वातावरण र प्राकृतिक विपद्हरूको निगरानी तथा व्यवस्थापनका लागि अन्तरिक्षमा पठाएको स्याटेलाइट हो। यस स्याटेलाइटले मुख्य रूपमा भूमि योजना, कृषि व्यवस्थापन, बाढी, पहिरो र अन्य प्राकृतिक विपद् न्यूनीकरणका कार्यमा सहयोग पुर्याउँछ।

अन्तरिक्षबाट पृथ्वीको सतहको तस्बिर र डाटा सङ्कलन गर्ने क्षमता भएको यस उपग्रहले अल्जेरियालाई दिगो विकास, स्रोत व्यवस्थापन र आपत्कालीन परिस्थितिमा छिटो निर्णय लिनमा मद्दत पुर्याउँछ।

बेइजिङ समयअनुसार दिउँसो १२ बजेर १ मिनेटमा प्रक्षेपण गरिएको स्याटेलाइट निर्धारित कक्षामा सुरक्षित रूपमा प्रवेश गरेको जनाइएको छ। उक्त स्याटेलाइटलाई भूमि उपयोग योजना, प्राकृतिक विपद् रोकथाम तथा क्षति न्यूनीकरणका कार्यमा प्रयोग गरिनेछ। चीनको लङ मार्च शृङ्खलाको वाहक रकेटमार्फत प्रक्षेपण गरिएको यो अभियान उक्त रकेट शृङ्खलाको ६२६औँ उडान रहेको छ।

चीनले अन्तरिक्ष प्रविधि क्षेत्रमा निरन्तर प्रगति गर्दै आएको छ भने यस प्रक्षेपणलाई चीन र अल्जेरियाबीचको अन्तरिक्ष सहकार्यको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: २ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...