मस्कको न्यूरालिङ्कलाई टक्कर दिने योजनामा ओपनएआई: ब्रेन–कम्प्युटर इन्टरफेस स्टार्टअप मर्ज ल्याब्समा लगानी

  • Technology Khabar | ३ माघ २०८२, शनिबार
मस्कको न्यूरालिङ्कलाई टक्कर दिने योजनामा ओपनएआई: ब्रेन–कम्प्युटर इन्टरफेस स्टार्टअप मर्ज ल्याब्समा लगानी
फाइल तस्बिर

काठमाडौं ।

 ओपनएआईले आफ्नै सीईओ साम अल्टम्यान को ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) स्टार्टअप मर्ज ल्याब्समा लगानी गरेको छ।

जैविक र कृत्रिम बुद्धिमत्ताबीच सेतु निर्माण गरेर मानव क्षमताको अधिकतम उपयोग गर्ने उद्देश्यसहित आफूलाई “अनुसन्धान प्रयोगशाला”का रूपमा चिनाउने मर्ज ल्याब्स बिहीबार गुमनाम अवस्थाबाट सार्वजनिक भएको छ।

कम्पनीले शुरुवाती चरणको लगानी उठाएको भए पनि आधिकारिक रूपमा रकम खुलाएको छैन। तर यस विषयमा जानकार स्रोतका अनुसार मर्ज ल्याब्सको २५ करोड डलरको शुरुवाती लगानी राउन्डमा ओपनएआईले सबैभन्दा ठूलो एकल लगानी गरेको हो जसमा कम्पनीको मूल्यांकन ८५ करोड डलर गरिएको छ।

“हाम्रो संसारप्रतिको व्यक्तिगत अनुभव अरबौँ सक्रिय न्युरोनबाट उत्पन्न हुन्छ,” मर्ज ल्याब्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। “यदि हामी यी न्युरोनहरूसँग ठूलो स्तरमा अन्तरक्रिया गर्न सक्छौँ भने हराएका क्षमताहरू पुनःस्थापित गर्न, स्वस्थ मस्तिष्क अवस्था कायम राख्न, आपसी सम्बन्ध गहिरो बनाउन र उन्नत एआईसँग मिलेर कल्पना तथा सिर्जनाको दायरा विस्तार गर्न सकिन्छ।”

मर्ज ल्याब्सले यी लक्ष्यहरू गैर-आक्रामक तरिकाबाट हासिल गर्ने बताएको छ। कम्पनीले इलेक्ट्रोडको सट्टा अणु  प्रयोग गरेर न्युरोनसँग जडान हुने नयाँ प्रविधि विकास गर्ने र अल्ट्रासाउन्डजस्ता गहिरो पहुँच भएका माध्यमबाट सूचना पठाउने तथा प्राप्त गर्ने योजना बनाएको टेकक्रञ्चले उल्लेख गरेको छ।

यो कदमले साम अल्टम्यान र इलन मस्कबीचको प्रतिस्पर्धालाई अझ गहिरो बनाएको छ। मस्कको न्यूरालिङ्क स्टार्टअपले पनि गम्भीर पक्षघात भएका व्यक्तिलाई सोचमार्फत उपकरण नियन्त्रण गर्न सक्ने चिप विकास गरिरहेको छ। तर न्यूरालिङ्कको प्रविधि हाल शल्यक्रिया गरेर मस्तिष्कमा प्रत्यारोपण गर्नुपर्ने खालको छ।

न्यूरालिङ्कले सन् २०२५ को जुनमा ६५ करोड डलरको सिरिज ई लगानी उठाएको थियो जसमा कम्पनीको मूल्यांकन ९ अर्ब डलर गरिएको थियो। बीसीआई प्रविधिका चिकित्सकीय प्रयोगहरू भए पनि मर्ज ल्याब्स बढी रूपमा मानव जीवविज्ञान र एआईलाई मिसाएर “अतिमानवीय क्षमता” हासिल गर्ने सिलिकन भ्यालीको कल्पनातर्फ केन्द्रित देखिन्छ।

“ब्रेन–कम्प्युटर इन्टरफेस अर्थात् बीसीआईहरू नयाँ र महत्वपूर्ण सीमाना हुन्,” ओपनएआईले ब्लग पोस्टमार्फत जनाएको छ। “यसले सञ्चार, सिकाइ र प्रविधिसँगको अन्तरक्रियाका नयाँ तरिका खोल्छ। बीसीआईले एआईसँग सहज, मानवकेन्द्रित अन्तरक्रिया सम्भव बनाउने भएकाले ओपनएआईले मर्ज ल्याब्सको शुरुवाती लगानीमा सहभागिता जनाएको हो।”

अल्टम्यानबाहेक मर्ज ल्याब्सका सह–संस्थापकहरूमा टूल्स फर ह्युम्यानिटीका सीईओ एलेक्स ब्लानिया र प्रोडक्ट तथा इन्जिनियरिङ प्रमुख स्याण्ड्रो हर्बिग, फरेस्ट न्यूरोटेकका सह–संस्थापक टाइसन अफ्लालो र सम्नर नर्मन तथा क्याल्टेकका अनुसन्धानकर्ता मिखाइल शापिरो रहेका छन्।

ब्लानिया र हर्बिगले टूल्स फर ह्युम्यानिटीमा आफ्नो भूमिका यथावत् रहने बताएका छन्। मर्ज ल्याब्सले अफ्लालो र नर्मन फरेस्ट न्यूराटेकमै रहने वा नरहने विषयमा स्पष्ट नबताए पनि दुवै कम्पनीबीच “सकारात्मक सहकार्य” रहने जनाएको छ। शापिरोले क्याल्टेकमा अध्यापन कार्य जारी राख्ने बताएका छन्। सह–संस्थापकहरू नै मर्ज ल्याब्सको बोर्ड सदस्य पनि हुन्।

सम्झौताअन्तर्गत ओपनएआईले मर्ज ल्याब्ससँग वैज्ञानिक फाउन्डेसन मोडेल र अन्य अत्याधुनिक उपकरणमा सहकार्य गर्नेछ, जसले अनुसन्धान तथा विकासलाई तीव्र बनाउने अपेक्षा गरिएको छ। ओपनएआईका अनुसार एआईले बायो–इन्जिनियरिङ, न्युरोसाइन्स र उपकरण विकासमा मात्र नभई सीमित र अस्पष्ट संकेतबाट पनि प्रयोगकर्ताको चाहना बुझ्न सक्ने अपरेटिङ प्रणाली विकासमा सहयोग गर्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

यस अर्थमा मर्ज ल्याब्स भविष्यमा ओपनएआईको सफ्टवेयरका लागि “रिमोट कन्ट्रोल” जस्तै बन्न सक्ने सम्भावना देखिन्छ। यदि मर्ज ल्याब्स सफल भयो भने यसले ओपनएआईका प्रयोगकर्ता बढाउनेछ जसले फेरि ओपनएआईको लगानीलाई औचित्य प्रदान गर्छ। साथै यसले अल्टम्यान स्वयम्‌को स्वामित्व रहेको स्टार्टअपको मूल्य ओपनएआईका स्रोत प्रयोग गरेर बढाउने प्रश्न पनि उठाएको छ।

ओपनएआईले यसअघि जोनी आइभको स्टार्टअप आईओ अधिग्रहण गरेर स्क्रिनरहित एआई हार्डवेयर विकास गरिरहेको छ। अप्रमाणित जानकारीअनुसार उक्त उपकरण इयरबड हुन सक्ने अनुमान गरिएको छ।

ओपनएआईले मुख्यतया ओपनएआई स्टार्टअप फण्डमार्फत लगानी गर्दै आएको छ जसले अल्टम्यानसँग सम्बन्धित रेड क्वीन बायो, रेन एआई र हार्भेजस्ता स्टार्टअपहरूमा पनि लगानी गरेको छ। साथै ओपनएआईले अल्टम्यान व्यक्तिगत रूपमा संलग्न रहेको हेलियन इनर्जी र ओक्लोजस्ता ऊर्जा कम्पनीहरूसँग व्यावसायिक सम्झौता पनि गरेको छ।

अल्टम्यानले सन् २०१७ देखि नै मानव र मेसिन “मर्ज” हुने अवधारणाबारे सार्वजनिक रूपमा विचार राख्दै आएका छन्। उनका अनुसार यो प्रक्रिया २०२५ देखि २०७५ को बीचमा हुन सक्छ र यसका मस्तिष्कमा इलेक्ट्रोन जडान गर्ने देखि च्याटबोटसँग अत्यन्त नजिकको सम्बन्ध बनाउनेसम्म रूपहरू विविध हुन सक्छन्।

उनका शब्दमा सुपरइन्टेलिजेन्स एआईको युगमा मानव अस्तित्व जोगाउने “सबैभन्दा राम्रो सम्भावना” नै मर्ज हो। “मर्ज सुरु भइसकेको छ, तर यो अझै धेरै अनौठो हुँदै जानेछ,” उनले लेखेका छन्। “हामी आफ्नै उत्तराधिकारी डिजाइन गर्ने पहिलो प्रजाति हुनेछौँ।”

प्रकाशित: ३ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार