मोबाइल अपरेटर एनसेलको इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र नवीकरण

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
मोबाइल अपरेटर एनसेलको इन्टरनेट सेवा प्रदायकको अनुमति पत्र नवीकरण
नेपाल दूरसञ्चार प्राधिकरण र एनसेल आजियाटाको कार्यालय भवन। फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको इन्टरनेट सेवा प्रदायक (आइएसपी) को अनुमति पत्र नवीकरण गरेको छ।

मोबाइल नेटवर्क सेवा प्रदायक एनसेलले नेपालको कानूनअनुसार इन्टरनेट सेवाको लागि छुट्टै अनुमति पत्र लिनुपर्ने प्रावधान रहेको छ।

कम्पनीले दिएको आवेदनको आधारमा प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले उक्त अनुमति पत्र नवीकरण गरिदिएको हो।

यसअघिनै एनसेलले नियमानुसार आवेदन दिएको र कम्पनीको बाँकी बक्यौताहरु समेत नभएको आधारमा बोर्डले निर्णय गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

दूरसञ्चार नियमावली २०५४ को नियम १२ अनुसार कम्पनीले नवीकरणका लागि समयावधि सकिनु ३ महिना अगाडिनै अनुमति पत्र नवीकरणका लागि आवेदन दिनुपर्ने उल्लेख छ। सोही आधारमा प्राधिकरणले अनुमति पत्र नवीकरण गर्ने गर्दछ।

एनसेलको इन्टरनेट सेवाको अनुमति पत्रको अवधि यहि माघ ४ गतेसम्म रहेको थियो। कम्पनीले २०६२ माघ ४ गते अनुमति पत्र पाएको प्राधिकरणको तथ्यांकमा देखिन्छ।

यसैबिच प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले पनि एनसेलको आइएसपीको अनुमति पत्र नवीकरण गरिएको जानकारी दिए। उनले भने, “यो नियमित प्रकृया हो।”

अनुमति पत्र नवीकरण भएसँगै एनसेलले थप ५ वर्ष इन्टरनेट सेवा सञ्चालन गर्न सक्नेछ र त्यसपछि २५ वर्षको अवधि पुरा हुनेछ।

कम्पनीले जीएसएम सेवा अर्थात मोबाइल सेवाको अनुमति पाएको १ वर्षपछि इन्टरनेट सेवाको अनुमति पत्र लिएको प्राधिकरणको तथ्यांकमा देखिन्छ। जसअनुसार कम्पनीको आइएसपीको अनुमति पत्रको अवधि यहि माघ ४ मा २० वर्ष पुरा हुँदैछ।

एनसेलको इन्टरनेट सेवाको अनुमति पत्र नवीकरण भएपनि अन्य इन्टरनेट सेवा  दायकहरुको नवीकरण प्रकृया रोकिएको छ। क्लासिक टेक, एरोनेट, टेक माइण्ड्स लगायतका इन्टरनेट सेवा प्रदायकहरुको बाँकी बक्यौता देखिएको भन्दै अनुमति पत्र नवीकरण हुन सकेको छैन्।

तर, यी सेवा प्रदायकहरुको अनुमति पत्र नवीकरण नभएपनि सेवा सञ्चालन गरिरहेका छन्।

यसअघि, अन्य इन्टरनेट सेवा प्रदायकहरुलाई बाँकी बक्यौता रकम तिर्न सार्वजनिक सूचनानै जारी गरेका प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले क्लासिक टेकलाई भने त्यसमा उन्मुक्ति दिएका थिए। उनले लामो समयदेखि फाइलनै आफ्नो घर्रामा लुकाएको समाचार प्रकाशित भईसकेको छ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारी र भायानेटको मिलेमतो, बिलमा मर्मत संभार शुल्क न्यून देखाएर ग्राहकसँग थप असुली

क्लासिक टेकले बाँकी बक्यौता तिर्न नसकेको भन्दै सञ्चार मन्त्रालयमार्फत सरकारसँग किस्ताबन्दीको सुबिधा मागिरहेको छ।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार