जेम्स वेब टेलिस्कोपद्वारा २० लाख माइल प्रतिघण्टाको गतिमा भागिरहेको विशाल ब्ल्याक होलको पुष्टि

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
जेम्स वेब टेलिस्कोपद्वारा २० लाख माइल प्रतिघण्टाको गतिमा भागिरहेको विशाल ब्ल्याक होलको पुष्टि
फाइल तस्बिर

काठमाडौं ।

जेम्स वेब टेलिस्कोपले आफ्नो आकाशगंगाबाट २ मिलियन माइल प्रतिघण्टाको गतिमा भागिरहेको एक विशाल ब्ल्याक होलको पुष्टि गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लूएसटी) ले अन्तरिक्षमा गहिराइसम्म पुगेर आफ्नो होस्ट आकाशगंगाबाट भागिरहेको हुनसक्ने एक विशालकाय ब्ल्याक होलले पछाडि छोडेको चम्किलो ताराहरूको लहर अवलोकन गरेको छ। यसले यसअघि अन्य टेलिस्कोपबाट देखिएका संकेतलाई थप स्पष्ट बनाएको छ।

अन्तरिक्षमा टाढा देखिएको एउटा शक्तिशाली ‘शक वेभ’ नै पहिलो पटक पुष्टि हुन लागेको “भागिरहेको” विशालकाय ब्ल्याक होलको मुख्य प्रमाण हुनसक्ने वैज्ञानिकहरू बताउँछन्। उक्त ब्ल्याक होल आफ्नो आकाशगंगाबाट करिब २.२ मिलियन माइल प्रतिघण्टा (३.६ मिलियन किलोमिटर प्रतिघण्टा) को गतिमा बाहिर निस्किरहेको छ।

यो सम्भावित पुष्टि डिसेम्बर ३ मा प्रिप्रिन्ट सर्भर आर्काइभ (एआरएक्सआईभी) मा प्रकाशित गरिएको हो, तर यसले अझै सहकर्मी समीक्षा (पीयर रिभ्यू) पाएको छैन। यद्यपि यो अध्ययन एस्ट्रोफीजिकल जर्नल लेटर्समा पठाइसकिएको छ।

लाइभसाइन्सका अनुसार अध्ययनका मुख्य लेखक येल विश्वविद्यालयका खगोलशास्त्र तथा भौतिकशास्त्रका प्राध्यापक पिटर भान डोक्कुम हुन्, जसले पछिल्ला वर्षहरूमा यस्ता सम्भावित विशालकाय ब्ल्याक होलका विषयमा धेरै सहकर्मी-समीक्षित अनुसन्धान प्रकाशित गरिसकेका छन्।

भान डोक्कुमका अनुसार करिब पाँच दशकदेखि चल्दै आएको सिद्धान्त र अनुसन्धानपछि यो पहिलो पटक भागिरहेको विशालकाय ब्ल्याक होलको पुष्टि हो। उनले लाइभसाइन्सलाई भने, “अबको स्पष्ट कदम भनेको यस्ता अरू उदाहरणहरू खोज्नु हो।”

यो ब्ल्याक होल पहिलो पटक सन् २०२३ मा भान डोक्कुमको टोलीले हबल स्पेस टेलिस्कोपको पुरानो तस्बिरमा देखिएको एउटा धुम्रकेतु रेखाबाट पत्ता लगाएको थियो। त्यो दृश्य यति अनौठो थियो कि टोलीले हवाईस्थित केक वेधशालाबाट थप अवलोकन गरेको थियो।

त्यतिबेलाका अध्ययनले उक्त ब्ल्याक होलको तौल सूर्यको करिब २ करोड गुणा रहेको र त्यो अनौठो रेखा २ लाख प्रकाशवर्षसम्म फैलिएको नयाँ ताराहरूको “पछिल्लो लहर” भएको देखाएको थियो।

यो दूरी हाम्रो मिल्की वे आकाशगंगाको व्यासभन्दा दोब्बर हो। हबलको तस्बिरले ब्रह्माण्ड हालको १३.८ अर्ब वर्षको उमेरको करिब आधा उमेरमा रहेको समय देखाउँछ।

भान डोक्कुमले भने, “हामीलाई यो अनौठो वस्तु भागिरहेको विशालकाय ब्ल्याक होल हुनसक्छ भन्ने शंका थियो, तर ठोस प्रमाण थिएन।” त्यसैले टोलीले यसपटक जेडब्लूएसटी प्रयोग गर्‍यो, जुन यसको अत्यधिक संवेदनशीलता र स्पष्टताका लागि परिचित छ, ताकि तीव्र गतिमा हिँडिरहेको ब्ल्याक होलले बनाउने ‘बो शोक’ देख्न सकियोस्।

जेडब्लूएसटीको मिड–इन्फ्रारेड उपकरणले उक्त शोक वेभलाई अत्यन्तै स्पष्ट रूपमा देखायो। भान डोक्कुमका अनुसार, “यो जहाजले पानीमा बनाउने छालजस्तै हो। यहाँ जहाज भनेको ब्ल्याक होल हो, जुन आफैं देख्न गाह्रो छ, तर यसले अगाडि धकेलेको हाइड्रोजन र अक्सिजन ग्यास हामी देख्न सक्छौं।”

उनले भने, “यस वस्तुको सबै संकेतले यसलाई विशेष बनाएको थियो, तर तथ्यांकमा यति स्पष्ट प्रमाण देख्नु निकै सन्तोषजनक थियो।”

भान डोक्कुमका अनुसार जेडब्लूएसटी हबल र केकबाट फरक–फरक तरङ्ग लम्बाईमा संकलित तथ्यांक एकअर्कासँग मेल खान्छन्। “यी सबैले पजलका फरक टुक्रा दिन्छन्, र ती सबै सैद्धान्तिक मोडेलले भविष्यवाणी गरेझैं सुन्दर रूपमा जुध्छन्,” उनले भने।

यस्ता भागिरहेका ब्ल्याक होलको अध्ययनले आकाशगंगा र ब्ल्याक होल कसरी विकास भए भन्ने बुझ्न मद्दत गर्छ। मिल्की वे सहित अधिकांश ठूला आकाशगंगाको केन्द्रमा विशालकाय ब्ल्याक होल हुन्छ। तर ती आफ्नो आकाशगंगाबाट उम्कन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न लामो समयदेखि रहस्यमै छ।

भान डोक्कुमका अनुसार, एउटा विशालकाय ब्ल्याक होल तब मात्र आफ्नो आकाशगंगाबाट बाहिर निस्कन सक्छ जब कम्तीमा दुई ब्ल्याक होल अत्यन्तै नजिक आउँछन् र तीव्र गुरुत्व अन्तरक्रियाले एउटा ब्ल्याक होललाई “लात हानेर” बाहिर निकाल्छ।

नयाँ अनुसन्धानले यो भागिरहेको ब्ल्याक होल कम्तीमा दुई, सम्भवतः तीनवटा ब्ल्याक होलको अन्तरक्रियाबाट बनेको हुनसक्ने देखाउँछ। प्रत्येकको तौल सूर्यको कम्तीमा १ करोड गुणा भएकोले त्यो टकराव “अत्यन्तै हिंस्रक” भएको हुनुपर्छ।

अनुसन्धानपत्रले यस्ता अरू केही सम्भावित उदाहरणहरू पनि उल्लेख गरेको छ, तर तिनको व्याख्या कठिन छ। त्यसमध्ये एक “कोस्मिक आउल” नामक वस्तु हो, जुन पृथ्वीबाट करिब ११ अर्ब प्रकाशवर्ष टाढा रहेको लाइभसाइन्सले उल्लेख गरेको छ।

कस्मिक आउलमा दुईवटा आकाशगंगाको केन्द्रमा सक्रिय विशालकाय ब्ल्याक होल छन्, र तिनको बीचमा ग्यासको बादलभित्र अचम्मलाग्दो रूपमा अर्को ब्ल्याक होल रहेको देखिन्छ। त्यो तेस्रो ब्ल्याक होल कसरी त्यहाँ पुग्यो भन्ने विषयमा वैज्ञानिकहरूबीच मतभेद छ।

कतिपयले त्यो ब्ल्याक होल भागेर आएको हुनसक्ने भन्छन्, तर भान डोक्कुमको टोलीले गरेको जेडब्लूएसटी अवलोकनले त्यसलाई चुनौती दिएको छ। उनीहरूको निष्कर्ष अनुसार, उक्त ब्ल्याक होल सम्भवतः दुई आकाशगंगा ठोक्किन लाग्दा बनेका शक्तिशाली शोक वेभबाट ग्यासको प्रत्यक्ष संकुचन भएर त्यहीँ बनेको हुनसक्छ।

यस्ता वस्तुहरूबारे थप अध्ययन आवश्यक रहेको भान डोक्कुम बताउँछन्। उनले युरोपेली युक्लिड र आउँदै गरेको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपलाई यस्ता खोजका लागि उपयोगी बताए, किनकि यी टेलिस्कोपले सम्पूर्ण आकाश सर्वेक्षण गर्छन्। “यसले यस्तो घटना कति पटक हुन्छ भन्ने थाहा दिन्छ, जुन कुरा हामी साँच्चै जान्न चाहन्छौं,” उनले भने।

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार