वन्यजन्तु अध्ययनका लागि क्यामराले घेरिएका छन् मुस्ताङका यी पहाड

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
वन्यजन्तु अध्ययनका लागि क्यामराले घेरिएका छन् मुस्ताङका यी पहाड

काठमाडौं ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङको चराङ पासमा दुर्लभ वन्यजन्तु अध्ययनका लागि क्यामरा जडान गरिएका छन्। सो क्षेत्रमा मात्र नभई हिउँचितुवा पाउने सम्भावना रहेका ठाउँमा हिउँचितुवालाई कैद गर्न क्यामरा जडान गरिएको हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्राविधिकको टोलीले समुद्री सतहदेखि पाँच हजार पाँच सय मिटरको उचाइमा क्यामरा जडान गरेको छ।

ल्होमन्थाङ गाउँपालिका – २, छोसेरमा करिब दुई फिट हिउँ पन्छाउँदै क्यामरा राखिएका छन्। तापक्रम ऋणात्मक हुँदा पनि उपल्लो मुस्ताङमा हिउँचितुवाको वासस्थानआसपास क्षेत्रमा एक्याप इलाका कार्यालय ल्होमन्थाङले क्यामरा जडान गरेको एक्यापका प्रमुख उमेश पौडेलले बताए।

यही पुसको पहिलो सातादेखि एक्यापले उपल्लो मुस्ताङको दुई गाउँपालिकामा विभिन्न स्थानमा ६७ वटा क्यामरा जडान गरिएको छ। प्रमुख पौडेलका अनुसार हिउँचितुवाको वासस्थानसाथै आहारा प्रजातिका वन्यजन्तुको खोजीमा भौँतारिने क्षेत्रलाई लक्षित गरी क्यामरा जडानलाई निरन्तरता दिइएको छ।

लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाका १० वडामा कुल ९७ वटा क्यामरा जडान गरिने छ भने पाँच वटा अनलाइन क्यामराले समेत वन्यजन्तुको नियमित निगरानी गरिने गरिएको छ।

अत्यधिक चिसोका कारण समुद्री सतहबाट चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्ड क्षेत्रमा सात वटा क्यामरा जडान गर्न बाँकी रहेको छ। जडानबाहेक अतिरिक्त करिब सात वटा क्यामेरा राख्ने योजना रहेको पौडेलले बताए।

उपल्लो मुस्ताङका हिउँचितुवा देखिने सबै कुनाकाप्चामा क्यामरा राखिएको छ। उपल्लो मुस्ताङ क्षेत्रमा क्यामराको जडानसँगै हिउँचितुवा तथा अन्य वन्यजन्तुको अवस्थाको पहिचानसँगै चोरीसिकारी नियन्त्रणमा समेत सघाएको ल्होमन्थाङ -१, छोसेरकी वडा सदस्य छिरिङ युटिन गुरुङले बताए। उपल्लो मुस्ताङका करिब सबै जसो उच्च हिमाली क्षेत्र र मानवबस्ती आसपासका पहाडमा क्यामेरा जडान गरिएको छ।

त्यसै गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका-५, साङ्तामा सात वटा क्यामरा जडान गरिएका छन्। एक्याप इलाका कार्यालय जोमसोमका संरक्षण सहायक दीपक ओलीले हिउँ जमेको क्षेत्रमा पुगेर क्यामरा जडान गर्न सफल भएको उनले बताए।

यस क्षेत्रमा एक्याप ल्होमन्थाङ र जोमसोमको टोलीले आफ्नो कार्यक्षेत्रभित्र धमाधम क्यामरा जडान गरिरहेका छन्।

एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख राजेश गुप्ताका अनुसार मुस्ताङमा हिउँचितुवाको निगरानीका लागि कर्मचारीले चिसोमा समेत जोखिम मोलेर नियमित गस्तीसमेत गर्ने गरेका छन्।

हिमालको रानीको नामले चिनिने हिउँचितुवा मुख्य वासस्थानआसपासका क्षेत्र तथा कठ्याङ्ग्रिँदो चिसोसँगै वासस्थानबाट तल बस्तीआसपाससम्म झर्ने क्रममा मानवबस्तीमा समेत प्रवेश गर्ने जोखिम हुन्छ।

हिउँचितुवाको विचरण गर्ने बाटोमा अहिले क्यामरा राखिएका छन्। हिउँचितुवाले नाउर, फ्याउ मुसा, हिमाली खरायोलगायतका वन्यजन्तु र पन्छीको सिकार गर्छ।

जाडोयाममा पोथीबाट अलग भएर भालेको आक्रमणबाट जोगिन भौंतारिन्छ। भाले चितुवाको बच्चा पनि आक्रमक नै हुन्छ। पोथी हिउँचितुवा धेरै हिँडडुल नगर्ने, भाले भने लामो दुरीसम्म पुग्छ। आहारा प्रजातिको संरक्षणसँगै हिउँचितुवा मानव द्वन्द्व न्यूनीकरण एक्यापमा चुनौती रहेको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २८ पुष २०८२, सोमबार