
काठमाडौं ।
अमेरिकी बजारमा प्रवेशको प्रयास गरिरहेका बेला एनएसओको पारदर्शिता दावीको आलोचना भएको छ।
सरकारी जासुसी सफ्टवेयर बनाउने चर्चित तथा विवादास्पद कम्पनी एनएसओ ग्रुपले बुधबार नयाँ पारदर्शिता प्रतिवेदन सार्वजनिक गरेको छ। कम्पनीले यसलाई “जवाफदेहिताको नयाँ चरण” को सुरुवात भनेको छ।
तर अघिल्ला वार्षिक प्रतिवेदनको तुलनामा यस पटकको प्रतिवेदनमा मानवअधिकार उल्लंघनसँग जोडिएका कारण कति ग्राहकलाई अस्वीकार, अनुसन्धान, निलम्बन वा सेवा बन्द गरिएको थियो भन्ने विवरण समेटिएको छैन।
टेकक्रञ्चका अनुसार प्रतिवेदनमा मानवअधिकारको सम्मान गर्ने र ग्राहकलाई पनि त्यसै गर्न बाध्य पार्ने प्रतिबद्धता व्यक्त गरिए पनि त्यसलाई पुष्टि गर्ने ठोस प्रमाण प्रस्तुत गरिएको छैन।
एनएसओ र जासुसी सफ्टवेयर बजारलाई लामो समयदेखि नियालिरहेका विज्ञ र आलोचकहरूका अनुसार यो प्रतिवेदन अमेरिकी सरकारले एनएसओलाई ‘एन्टिटी लिस्ट’ भनिने प्रतिबन्ध सूचीबाट हटाओस् भन्ने उद्देश्यले चलाइएको अभियानको हिस्सा हो। कम्पनी नयाँ लगानीकर्ता र नेतृत्वसहित अमेरिकी बजारमा प्रवेश गर्ने तयारीमा छ।
गत वर्ष अमेरिकी लगानीकर्ताहरूको एक समूहले कम्पनी खरिद गरेपछि एनएसओमा ठूला परिवर्तन भएका छन्। पूर्व ट्रम्प प्रशासनका अधिकारी डेभिड फ्राइडम्यान नयाँ कार्यकारी अध्यक्ष बनेका छन्।
प्रमुख कार्यकारी अधिकृत यारोन शोहत पदबाट हटेका छन्। कम्पनीमा संलग्न अन्तिम संस्थापक ओम्री लावीले पनि कम्पनी छाडेका छन्, इजरायली पत्रिका हारेट्जले जनाएको छ।
प्रतिवेदनमा फ्राइडम्यानले “एनएसओका उत्पादन सही देशका सही हातमा हुँदा संसार धेरै सुरक्षित बन्छ” भनेर लेखेका छन्। तर प्रतिवेदनमा एनएसओ कुन–कुन देशमा सञ्चालनमा छ भन्ने उल्लेख गरिएको छैन।
डिजिटल अधिकारसम्बन्धी संस्था एक्सेस नाउकी वरिष्ठ प्रविधि–कानुनी सल्लाहकार नाटालिया क्रापिभाले टेकक्रन्चलाई भनिन्, “एनएसओ स्पष्ट रूपमा अमेरिकी एन्टिटी लिस्टबाट हट्न अभियानमा लागेको छ, र त्यसका लागि सूचीमा परेपछि कम्पनीमा ठूलो परिवर्तन आएको छ भन्ने देखाउन आवश्यक छ।”
उनका अनुसार नेतृत्व परिवर्तन त्यसको एउटा पक्ष हो भने पारदर्शिता प्रतिवेदन अर्को पक्ष हो। तर विगतमा एनएसओ र अन्य जासुसी सफ्टवेयर कम्पनीहरूले नाम र नेतृत्व परिवर्तन गर्दै खोक्रा पारदर्शिता वा नैतिकता प्रतिवेदन सार्वजनिक गरे पनि दुरुपयोग भने जारी नै रहेको उदाहरण देखिएको उनले बताइन्।
“यो केवल देखावटी प्रयास मात्र हो र अमेरिकी सरकारले यसलाई हल्का रूपमा लिनु हुँदैन,” क्रापिभाले भनिन्।
जो बाइडेन प्रशासनले एनएसओलाई एन्टिटी लिस्टमा राखेपछि कम्पनीले प्रतिबन्ध हटाउन लगातार लबिङ गर्दै आएको छ। गत वर्ष डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि एनएसओले यी प्रयास अझ तीव्र बनाएको थियो। तर गत मे महिनासम्म पनि कम्पनी नयाँ प्रशासनलाई मनाउन असफल भएको थियो।
डिसेम्बरको अन्त्यतिर ट्रम्प प्रशासनले इन्टेलेक्सा जासुसी सफ्टवेयर समूहसँग सम्बन्धित तीन जना कार्यकारीमाथिका प्रतिबन्ध हटाएको थियो। यसलाई केहीले जासुसी सफ्टवेयर बनाउने कम्पनीप्रति प्रशासनको दृष्टिकोणमा परिवर्तनको संकेतका रूपमा हेरेका छन्।
प्रकाशित: २६ पुष २०८२, शनिबार