
काठमाडौं ।
‘कन्टेन्ट क्रिएटर’ भन्ने शब्द अहिले विश्वभरी सबैको मुखमा छ। विशेषगरी जेन–जी पुस्तामा फलोअर्स, लाइक्स र भाइरल कन्टेन्टको कुरा सामान्य भइसकेको छ। आज भारतमा २० देखि २५ लाख मानिस मोबाइलको स्क्रिनमा चर्चित हुने सपना लिएर दिन–रात कन्टेन्ट बनाइरहेका छन्।
तर प्रश्न के हो भने वास्तवमा कति जनाले कमाइ गरिरहेका छन्? र कन्टेन्ट क्रिएटर इकोनोमीको वास्तविकता के हो? करिब १५ वर्षअघि भारतमा केही मानिसले कन्टेन्ट क्रिएसनलाई कमाइको माध्यमका रूपमा हेर्न थालेका थिए। त्यतिबेला भने यस्ता कन्टेन्ट क्रिएटरलाई छिमेकी र आफन्तले बेरोजगार भन्ने गर्थे। तर अहिले अवस्था फेरिएको छ।
यसै वर्ष मे महिनामा मुम्बईमा भएको वेभ्स समिटमा भारतका डिजिटल क्रिएटरहरूले हरेक वर्ष करिब ३५० अर्ब डलर बराबरको ग्राहक खर्चलाई प्रभाव पारिरहेको बताइएको थियो। आगामी पाँच वर्षमा यो आँकडा एक ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ। यस अर्थमा भारतको कन्टेन्ट क्रिएटर इकोनोमी करिब एक खर्ब डलरभन्दा बढीको हुन सक्ने देखिएको छ।
भारत सरकारले पनि यस क्षेत्रलाई गम्भीर रूपमा लिएको छ। मार्च २०२५ मा केन्द्रीय मन्त्री अश्विनी वैष्णवले क्रिएटर इकोनोमीका लागि १०० करोड डलरको व्यवस्था गरिने बताएका थिए। यसबाट के स्पष्ट हुन्छ भने मोबाइल स्क्रिनमा देखिने एक–डेढ मिनेटका कन्टेन्ट बनाउने क्रिएटरहरू देशका लागि ठूलो डिजिटल सेल्स फोर्स बन्दै गइरहेका छन्।
बीबीसीहिन्दीको रिपोर्टअनुसार भारतमा २० देखि २५ लाख सक्रिय डिजिटल क्रिएटर छन्, जसका एक हजारभन्दा बढी फलोअर्स छन् र नियमित रूपमा विभिन्न प्लेटफर्ममा कन्टेन्ट पोस्ट गर्छन्। सस्तो डाटा उपलब्ध भएकाले जेन–जी पुस्तामा यो माध्यमबाट कमाइ गर्ने प्रतिस्पर्धा झन् बढ्दै गएको छ।
तर कमाइ गर्नेको संख्या निकै कम छ। बोस्टन कन्सल्टिङ ग्रुपको रिपोर्टअनुसार केवल ८ देखि १० प्रतिशत क्रिएटरले मात्र आफ्नो कन्टेन्टबाट कमाइ गर्न सकेका छन्।
यसको अर्थ २० देखि २५ लाख सक्रिय क्रिएटरमध्ये केवल २ देखि ढाई लाख जनाले मात्र पैसा कमाइरहेका छन्। बाँकी ९० देखि ९२ प्रतिशतले या त निकै कम कमाउँछन् वा सामाजिक सञ्जाल उनीहरूको मुख्य आम्दानीको स्रोत होइन।
कन्टेन्ट क्रिएटरको कमाइका स्रोतमा ठूला ब्रान्डसँगको साझेदारी, ब्रान्ड स्पोन्सरशिप, प्लेटफर्म विज्ञापन, एफिलिएट मार्केटिङ, सब्सक्रिप्सन तथा प्रिमियम कन्टेन्ट पर्छन्। ठूलो दर्शक संख्या भएकाले शीर्ष क्रिएटरहरू ब्रान्डका लागि प्रभावकारी मार्केटिङ माध्यम बन्छन्।
यद्यपि भारतमा केही कन्टेन्ट क्रिएटर करोडपति बनेका छन्, यसबाट सबैभन्दा बढी फाइदा भने सामाजिक सञ्जाल प्लेटफर्महरूले उठाइरहेका छन्। बिजनेस स्ट्यान्डर्डको रिपोर्टअनुसार सन् २०२४ मा युट्युबको भारतीय अपरेसनबाट १४ हजार ३०० करोड रुपैयाँ आम्दानी भएको थियो। फेसबुक र इन्स्टाग्रामको मालिक कम्पनी मेटाको कारोबार पनि हजारौँ करोड रुपैयाँको रहेको छ।
कन्टेन्ट क्रिएसन क्षेत्रमा प्रतिस्पर्धा निकै तीव्र छ। प्रतिस्पर्धासँगै तुलना गर्ने प्रवृत्ति, असफल हुने डर र मानसिक दबाब पनि उत्तिकै बढ्दो छ। कन्टेन्ट क्रिएसन ठूलो बजार बनेको भए पनि यसमा सफलता पाउनु सजिलो छैन। हरेक भाइरल भिडियो पछाडि धेरै मेहनत गर्ने तर सफल हुन नसकेका क्रिएटरहरूको कथा लुकेको छ।
प्रकाशित: २४ पुष २०८२, बिहीबार