अमेरिकाद्वारा चीनस्थित टीएसएमसी कारखानालाई चिप उपकरण आयातका लागि वार्षिक लाइसेन्स प्रदान

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
अमेरिकाद्वारा चीनस्थित टीएसएमसी कारखानालाई चिप उपकरण आयातका लागि वार्षिक लाइसेन्स प्रदान

काठमाडौं ।

अमेरिकी सरकारले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) लाई चीनको नान्जिङस्थित आफ्ना कारखानामा अमेरिकी चिप उत्पादन उपकरण आयात गर्न वार्षिक निर्यात लाइसेन्स दिएको कम्पनीले बिहीबार जनाएको छ।

यस अनुमतिले कारखानाको सञ्चालन तथा उत्पादन आपूर्ति अवरुद्ध नहुने सुनिश्चित गर्ने टीएसएमसीले रोयटर्सलाई दिएको विज्ञप्तिमा उल्लेख गरेको छ। “यो लाइसेन्सले फ्याब सञ्चालन र उत्पादन आपूर्ति निरन्तर रहने सुनिश्चित गर्छ,” कम्पनीले भनेको छ।

रोयटर्सका अनुसार यसअघि टीएसएमसीसहित केही एशियाली कम्पनीहरूले चीनतर्फ चिपसम्बन्धी निर्यातमा लागू अमेरिकी कडाइबाट छुट पाउँदै आएका थिए। ती छुटहरू ‘भ्यालिडेटेड एन्ड–युजर’ हैसियतका रूपमा चिनिन्थे, जसले व्यक्तिगत निर्यात अनुमतिबिनै उपकरण आपूर्ति गर्न अनुमति दिन्थ्यो। तर ती सुविधा डिसेम्बर ३१ मा समाप्त भएपछि सन् २०२६ का लागि छुट्टै निर्यात लाइसेन्स लिनु पर्ने अवस्था आएको हो।

अमेरिकी वाणिज्य मन्त्रालयले नान्जिङस्थित टीएसएमसी कारखानालाई वार्षिक निर्यात लाइसेन्स प्रदान गरेको र यसअन्तर्गत अमेरिकी निर्यात नियन्त्रणमा रहेका सामग्रीहरू व्यक्तिगत आपूर्तिकर्ता लाइसेन्सबिनै आपूर्ति गर्न सकिने कम्पनीले जनाएको छ।

नान्जिङ कारखानामा १६ नानोमिटर तथा अन्य ‘म्यच्योर नोड’ चिप उत्पादन हुने गर्छ, जुन टीएसएमसीका अत्याधुनिक सेमिकन्डक्टरमध्ये पर्दैनन्। कम्पनीको चीनमै अर्को चिप उत्पादन केन्द्र शाङ्घाइमा पनि रहेको छ। टीएसएमसीको सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार नान्जिङ कारखानाबाट कम्पनीको कुल आम्दानीको करिब २.४ प्रतिशत योगदान रहेको छ।

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार